गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

-


     पोखरा क्लिक     
     असाेज २० गते २०८३ मा प्रकाशित


नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। पाण्डेले लामो समय पार्टीमा गरेको अनुभव, सहकर्मीहरूको साथ तथा युवा पुस्ताको ऊर्जा र आकांक्षालाई जोड्दै एकताबद्ध, सुदृढ र समयानुकूल नेपाली कांग्रेस निर्माण गर्ने संकल्पसहित उम्मेदवारी दिएको बताएका छन्।

उम्मेदवारी दर्तापछि पाण्डेले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीका रूपमा काम गर्ने क्रममा प्राप्त सरकार सञ्चालनको अनुभवलाई पार्टीको हितमा उपयोग गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता, निष्पक्षता, संगठन सुदृढीकरण र विचारमा स्पष्टताका माध्यमबाट कांग्रेसलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। ‘अबको यात्रा मेरो मात्र होइन, हामी सबै कांग्रेसजनको साझा यात्रा हो,’ पाण्डेले भनेका छन्।

उनले १५औँ महाधिवेशनका सम्पूर्ण महाधिवेशन प्रतिनिधिसँग आत्मीय संवाद, साथ, सहयोग र विश्वासको अपेक्षा गर्दै उपसभापति पदमा आफ्नो पक्षमा मतदान गरी विजयी गराउन आग्रह गरेका छन्। ‘तपाईंहरूको विश्वासलाई पार्टी र संगठनको हितमा इमानदारीपूर्वक उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ पाण्डेले भने।



This will close in 20 seconds