पोखरामा भेडा–च्याङ्ग्रा भित्रिन थाले, यस वर्ष डोल्पादेखि मुस्ताङसम्मका च्याङ्ग्रा, दशैंलाई लक्षित गरी २३ हजारदेखि ४५ हजार रुपैयाँसम्ममा बिक्री सुरु

-


     पोखरा क्लिक     
     असाेज १८ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १८ असोज,

नेपालीहरूको महान् पर्व बडादशैं नजिकिएसँगै पोखरामा हिमाली क्षेत्रका भेडा–च्याङ्ग्रा भित्रिन थालेका छन्। दशैंको परम्परागत खानाका रूपमा प्रयोग हुँदै आएका भेडा–च्याङ्ग्रा यस वर्ष मुस्ताङसँगै हुम्ला, जुम्ला र डोल्पाबाट समेत पोखराको बजारमा ल्याउन थालिएको हो ।

पोखरा–२५ हेमजाको सुइखेतदेखि विष्णुपादुका माध्यमिक विद्यालयको खेलमैदान हुँदै याम्दीसम्मको क्षेत्रमा व्यवसायीहरूले भेडा–च्याङ्ग्रा बिक्रीका लागि राख्न थालेका छन्। प्रारम्भिक चरणमा भेडा–च्याङ्ग्राको मूल्य करिब २३ हजारदेखि ४५ हजार रुपैयाँसम्म निर्धारण गरिएको व्यवसायीहरूले बताएका छन् । आकार, तौल र जातअनुसार मूल्य फरक–फरक रहेको छ । यस वर्ष मुस्ताङका अतिरिक्त डोल्पा, जुम्ला र हुम्लाबाट समेत भेडा–च्याङ्ग्रा पोखरा ल्याइएकाले बजारमा आपूर्ति बढ्ने र उपभोक्ताले केही सहुलियत मूल्यमा खरिद गर्न पाउने अपेक्षा गरिएको छ । जुम्लाका व्यवसायी भीमबहादुर बोहराले डोल्पाबाट करिब तीन साताको यात्रा गरेर भेडा–च्याङ्ग्रा पोखरा ल्याएको पोखराक्लिकलाई बताउनुभयो। बाटोमा विभिन्न स्थानमा पहिरो तथा सडक अवरोधका कारण आवतजावत कठिन भएकाले ढुवानी खर्च बढेको उहाँको भनाइ छ । “दुई वर्षअघि करिब दुई लाख रुपैयाँ नाफा भएको थियो। तर गत वर्ष करिब ६ लाख रुपैयाँ घाटा भयो,” बोहराले भन्नुभयो, “यस वर्ष पनि ठाउँ–ठाउँमा पहिरो गएको र मानिसलाई समेत आवतजावत गर्न कठिन भएकाले लागत बढेको छ । ”

मुस्ताङका व्यवसायीहरूले पनि दशैंलाई लक्षित गरी भेडा–च्याङ्ग्रा पोखरा ल्याउने क्रम बढाएका छन्। मुस्ताङको घिलिङबाट एक समूहले मात्रै करिब १४० वटा भेडा–च्याङ्ग्रा पोखरा ल्याएको व्यवसायी सुकबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार मुस्ताङमै एउटा भेडा–च्याङ्ग्राको मूल्य ३९ हजारदेखि ४१ हजार रुपैयाँसम्म परेको छ । उहाँको समूहले पोखरामा ल्याएर प्रतिगोटा करिब तीनदेखि चार हजार रुपैयाँ नाफा राखेर बिक्री गर्ने जनाएको छ। तयारी मासुको मूल्य भने प्रतिकेजी करिब २ हजार १ सय रुपैयाँ राखिएको बताइएको छ ।

त्यस्तै, हेमजाका ऋषिराम पौडेल र झपट पौडेलले माथिल्लो मुस्ताङबाट करिब १६५ वटा भेडा–च्याङ्ग्रा पोखरा ल्याएर विष्णुपादुका माध्यमिक विद्यालयको खेलमैदानमा बिक्री सुरु गर्नुभएको छ। उहाँहरूले कागबेनीबाट करिब आठ घण्टामा ट्रकमार्फत भेडा–च्याङ्ग्रा पोखरा ल्याएको बताउनुभयो । व्यवसायीहरूका अनुसार यस वर्ष दशैं–तिहारलाई लक्षित गरी मुस्ताङबाट मात्रै हजारौँ भेडा–च्याङ्ग्रा पोखरासहित देशका विभिन्न बजारमा जाने तयारी छ। मुस्ताङको कोरोला नाका दशैंअघि नै सञ्चालनमा आएकाले पनि यस वर्ष हिमाली क्षेत्रबाट भेडा–च्याङ्ग्रा बाहिरिने क्रम बढ्न सक्ने व्यवसायीहरूको भनाइ छ ।

पशु स्वास्थ्य परीक्षण गरेर मात्रै बिक्री

भेडा–च्याङ्ग्राको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै मुस्ताङको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले स्वास्थ्य परीक्षणको काम सुरु गरेको जनाएको छ । मुस्ताङबाट बाहिरी जिल्लामा पठाइने भेडा–च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र पठाउने व्यवस्था गरिएको कार्यालयका डा.लालमणि अर्यालले बताउनु भयो । हिमाली क्षेत्रमा प्राकृतिक चरनमा जडीबुटीसहितका विभिन्न वनस्पति खाँदै हुर्किएका भेडा–च्याङ्ग्रालाई उपभोक्ताले स्वादिलो र पोषणयुक्त मासुका रूपमा लिने गरेका छन् । यद्यपि, स्वास्थ्य र खाद्य सुरक्षाका दृष्टिले पशुको वास्तविक स्वास्थ्य अवस्था तथा पशु स्वास्थ्य प्रमाणपत्रलाई प्राथमिकता दिनुपर्ने पशु स्वास्थ्यकर्मीहरू बताउनु हुन्छ । पोखराका उपभोक्ता नारायण शाहीले यस वर्ष दशैंका लागि आउने भेडा–च्याङ्ग्राको मूल्य अघिल्ला वर्षभन्दा केही सहुलियत हुने विश्वास व्यक्त गर्नुभयो ।

“यस वर्ष मुस्ताङसँगै डोल्पा, जुम्ला र हुम्लाबाट पनि भेडा–च्याङ्ग्रा आएका छन्। आपूर्ति बढेमा उपभोक्ताले केही सस्तोमा खरिद गर्न पाउने आशा गरेका छौँ,” उहाँले भन्नुभयो । दशैं नजिकिँदै जाँदा पोखरामा भेडा–च्याङ्ग्राको कारोबार थप बढ्ने व्यवसायीहरूको अनुमान छ । हिमाली जिल्लाबाट लामो दूरी पार गरेर ल्याइने भएकाले ढुवानी, सडकको अवस्था, पशु स्वास्थ्य परीक्षण तथा स्थानीय बजारको मागले अन्तिम मूल्य निर्धारणमा प्रभाव पार्ने देखिएको छ ।



This will close in 20 seconds