नेपाली मौलिक पर्व दशैंको प्रवर्द्धन गर्न पोखरामा दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     असाेज ९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ९ असोज,

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा नेपालीहरूको मौलिक पर्व बडादशैंको सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्दै पोखरामा पहिलो पटक ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३’ हुने भएको छ । नेपाली संस्कृति, परम्परा, मौलिक खानपान तथा पारिवारिक पुनर्मिलनको पर्व दशैंलाई पर्यटकसमक्ष पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दशैं भेट’ भन्ने मूल नाराका साथ आगामी कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन लेकसाइडस्थित बाराहीघाट मैदानमा महोत्सव आयोजना गरिने ओटेफकी अध्यक्ष ममता न्यौपानेले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा महोत्सव आयोजना हुन लागेको हो । महोत्सव संयोजक तथा ओटेफकी निवर्तमान अध्यक्ष उमा भण्डारीले दशैंलाई नेपाली समाजको पारिवारिक पुनर्मिलन, आशीर्वाद, सद्भाव र सांस्कृतिक पहिचानसँग जोडिएको पर्वका रूपमा पर्यटकमाझ चिनाउने उद्देश्य रहेको बताउनुभयो । विदेशी पर्यटकलाई समेत नेपाली दशैंको प्रत्यक्ष अनुभूति गराउने गरी महोत्सवमा टीका र जमरा लगाइदिने कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो ।

‘दशैं नेपालीका लागि पारिवारिक पुनर्मिलन र आशीर्वादको पर्व हो । यही मौलिकतालाई पर्यटकले पनि प्रत्यक्ष अनुभव गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो,’ भण्डारीले भन्नुभयो । महोत्सवको सुरुवात कोजाग्रत पूर्णिमाका दिन बिहान खहरेचोकदेखि बाराहीघाटसम्म हुने सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनात्मक ¥यालीबाट हुनेछ । ¥यालीमा पञ्चेबाजा, पर्यटनसम्बद्ध संघसंस्था, आमा समूह, स्थानीय समुदाय तथा विभिन्न सांस्कृतिक समूहको सहभागिता रहने आयोजकले जनाएको छ । महोत्सव स्थलमा स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली परम्पराअनुसार टीका र जमरा लगाइदिने कार्यक्रमसँगै चङ्गा चेट प्रतियोगिता, चमरेली पिङ, रोटे पिङ तथा घुमाउने पिङ सञ्चालन गरिनेछ । विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, नेपाली मौलिक खानाका परिकार, स्थानीय उत्पादन तथा परम्परागत सामग्रीका स्टलसमेत महोत्सवमा राखिनेछन् ।

ओटेफकी संस्थापक अध्यक्ष जमुना पराजुलीले दशैं पर्यटन तथा सांस्कृतिक महोत्सवलाई संस्थाको ‘सिग्नेचर कार्यक्रम’ का रूपमा विकास गर्ने बताउनुभयो । नेपाली संस्कृति र पर्यटनलाई जोड्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने उहाँले जनाउनुभयो । महोत्सवका अवसरमा कबड्डी प्रतियोगितासमेत आयोजना गरिने अध्यक्ष ममता न्यौपानेले जानकारी दिनुभयो । नेपाली मौलिक खेल, संस्कृति र पर्वलाई पर्यटनसँग जोडेर पर्यटकलाई फरक अनुभव प्रदान गर्ने प्रयास गरिएको उहाँको भनाइ छ । नेपाल पर्यटन बोर्डका पोखरा कार्यालयका कार्यवाहक प्रमुख तथा वरिष्ठ अधिकृत जयशक्ति सराफले महोत्सवका लागि बोर्डको तर्फबाट सहयोग रहने बताउनुभयो । नेपाली पर्यटनका लागि खुला रहेको सन्देश प्रवाह गर्न यस्ता सांस्कृतिक कार्यक्रमले योगदान पुर्‍याउने उहाँले जनाउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले कुनै पनि सांस्कृतिक कार्यक्रम आयोजना गर्दा सम्बन्धित पर्व किन मनाइन्छ र त्यसको सामाजिक तथा सांस्कृतिक महत्व के हो भन्ने जानकारीसमेत पर्यटकलाई दिन आवश्यक रहेको बताउनुभयो । निजी क्षेत्रले पर्यटन प्रवर्द्धनका लागि निरन्तर मेहनत गरिरहेको उल्लेख गर्दै उहाँले दशैंलाई पर्यटनसँग जोड्ने महोत्सवले पोखराको पर्यटनमा नयाँपन थप्ने बताउनुभयो । कोजाग्रत पूर्णिमाका दिन फेवातालस्थित तालबाराही मन्दिरमा लाग्ने धार्मिक मेलालाई समेत महोत्सवसँग जोडेर पर्यटकलाई नेपाली धार्मिक तथा सांस्कृतिक परम्पराको अनुभव गराउने योजना रहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनका क्रममा हालै विभिन्न पर्यटन संस्थाको नेतृत्वमा निर्वाचित पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष बसन्त गौतम तथा नाट्टा गण्डकीका अध्यक्ष संगिता पौडेललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो । त्यस्तै, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ अधिकृत जयशक्ति सराफलाई समेत बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । दशैंको सांस्कृतिक पक्षलाई पर्यटनसँग जोडेर आयोजना गर्न लागिएको महोत्सवले पोखरामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली मौलिक पर्व, संस्कृति, खानपान र परम्पराको प्रत्यक्ष अनुभव गराउने अपेक्षा आयोजकले गरेको छ ।