
क्यानबेरा,
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अस्ट्रेलियाको क्यानबेरामा आयोजित ‘नेपाल फ्लड डिजास्टर अपिल’ कार्यक्रमबाट करिब १५ हजार अस्ट्रेलियन डलर, अर्थात् हालको विनिमय दरअनुसार करिब १६ लाख ३७ हजार नेपाली रुपैयाँ संकलन भएको छ।
आर्ट साउण्ड एफएम र नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान ९क्यानबेरा०को सहकार्यमा क्यानबेराको ३८ डेभिड स्ट्रिट, टर्नरस्थित पोलिस ह्वाइट ईगल क्लबमा आयोजित कार्यक्रममा नेपाली तथा अस्ट्रेलियाली समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, कलाकार, स्वयंसेवक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। नेपालका बाढी तथा पहिरोपीडितप्रति ऐक्यबद्धता जनाउँदै आयोजना गरिएको कार्यक्रममा नेपाली खानाका परिकारसँगै प्रत्यक्ष सांगीतिक प्रस्तुति, कविता वाचन र बाढीसम्बन्धी नाटक प्रस्तुत गरिएको थियो। कार्यक्रममार्फत संकलित रकम इमर्जेन्सी एक्सन अलायन्सको नेपाल फ्लड डिजास्टर अपिल तथा नेपालका प्रधानमन्त्री राहत कोषका लागि जुटाइएको आयोजकले जनाएको छ।
अस्ट्रेलियाली कलाकारदेखि नेपाली कलाकारसम्मको साथ
कार्यक्रममा अस्ट्रेलियाली ब्यान्ड द डेभिल एन्ड द बन्नी तथा द डेजी कलेक्टिभ लगायतका कलाकारले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिएका थिए। नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान (क्यानबेरा) का कलाकार शशांक अधिकारी, नवीन अधिकारी, उषा दवाडी र अर्णव सम्मान पौडेलले बाढी तथा विपद्सम्बन्धी नाटक प्रस्तुत गरेका थिए। प्रतिष्ठानका अध्यक्ष यज्ञ अधिकारीले कविता वाचन गर्नुभएको थियो भने जिसस भण्डारीले बाँसुरी वादनमार्फत सांगीतिक साथ दिनुभएको थियो। कार्यक्रमको उद्घोषण आश्मा बुढाथोकीले गर्नुभएको थियो। नेपाली स्वादका परिकार, सांगीतिक प्रस्तुति र सामुदायिक भेटघाटले कार्यक्रमलाई थप आत्मीय र प्रभावकारी बनाएको थियो। कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसक्ने दर्शकका लागि आर्ट साउण्ड एफएम तथा युट्युबमार्फत प्रत्यक्ष प्रसारणको समेत व्यवस्था गरिएको थियो।
जलवायु परिवर्तनप्रति विश्व समुदायको ध्यानाकर्षण
कार्यक्रममा जलविज्ञ तथा नेपाली समुदायका अगुवा डा। दुर्गा दत्त कँडेलले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले नेपालजस्ता भौगोलिक रूपमा संवेदनशील देशहरूले जलवायु परिवर्तनका कारण भोगिरहेका चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायले गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो। साथै, नेपालमा विपद्का कारण उत्पन्न हुने मानवीय तथा सामाजिक समस्याबारे अस्ट्रेलियाली समुदायलाई जानकारी गराउँदै स्थानीय नेतृत्व र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा उहाँले जोड दिनुभयो।
अर्थशास्त्री तथा नेपाली समुदायका अगुवा डा। कृष्ण हमालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने आयोजक, स्वयंसेवक, कलाकार तथा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो। विपद्को कठिन घडीमा नेपाली समुदायलाई साथ र सहयोग प्रदान गर्ने नेपाली तथा अस्ट्रेलियाली समुदायको योगदानको प्रशंसा गर्दै उहाँले संकलित रकमले बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत र पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
आर्ट साउण्ड एफएमका अध्यक्ष स्टिभ लिटलले नेपालप्रति संस्थाको ऐक्यबद्धता व्यक्त गर्दै मानवीय संकटका बेला समुदायबीचको सहकार्य र निरन्तर सहयोगको आवश्यकता औँल्याउनुभयो। समाचारका शीर्षकहरू ओझेलमा परेपछि पनि नेपाली समुदायप्रतिको साथ र समर्थन कायम रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले नेपाललाई आवश्यक परेको समयमा सहयोग जारी राख्ने बताउनुभयो। नेपालमा बाढी तथा पहिरोबाट प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले नेपाली र अस्ट्रेलियाली समुदायबीचको सहकार्य, मानवीय भावना र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको सशक्त सन्देश दिएको छ। नेपाल विपद्को सामना गरिरहेको समयमा अस्ट्रेलियामा रहेका नेपाली तथा अस्ट्रेलियाली समुदाय एकै ठाउँमा उभिएर राहतका लागि सहयोग जुटाउनु केवल आर्थिक सहयोग संकलनमा सीमित रहेन, यसले विपद्को समयमा मानवीय संवेदना, सामुदायिक एकता र सीमापार सहयोगको भावना अझ बलियो बनाएको आयोजकहरूको भनाइ छ।करिब १५ हजार अस्ट्रेलियन डलर करिब १६ लाख ३७ हजार नेपाली रुपैयाँको सहयोग संकलन हुनु यस अभियानप्रतिको समुदायको ऐक्यबद्धता र नेपालप्रतिको सद्भावको महत्वपूर्ण उदाहरण बनेको छ।





