
पोखरा, ३ असोज,
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले विद्यालय तहबाटै विद्यार्थीलाई व्यावहारिक शिक्षा, संस्कृति र आत्मनिर्भरतासँग जोड्ने अभ्यासले नयाँ पुस्ताको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ। कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिबार आयोजित दोस्रो कार्निभलको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीले आफैं स्टल सञ्चालन गरी परिकार तथा सिर्जनात्मक सामग्री बिक्री गर्नु व्यवहारिक सिकाइको उत्कृष्ट अभ्यास भएको बताउनुभयो।

यस्ता गतिविधिले विद्यार्थीमा आत्मविश्वास, उद्यमशीलता, अनुशासन र आत्मनिर्भरताको भावना विकास गर्ने उहाँको भनाइ थियो। नेपाल विविध जाति, भाषा र संस्कृतिले समृद्ध मुलुक भएको उल्लेख गर्दै श्रेष्ठले मौलिक संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। “हामी हजारौँ वर्ष पुरानो सभ्यता र संस्कृतिको विरासत बोकेका छौँ। यो विरासत नयाँ पुस्तामा सही रूपमा हस्तान्तरण गर्न सकेनौँ भने भोलि ठूलो प्रश्नचिह्न खडा हुन सक्छ,” उहाँले भन्नुभयो।
लियोनार्डो दा भिन्चीले ‘मोनालिसा’ चित्र निर्माण गर्दा देखाएको धैर्यता र अनुशासनको उदाहरण दिँदै उहाँले विद्यार्थीलाई पनि आफ्नो लक्ष्यप्रति निरन्तर मेहनत, धैर्यता र दृढ संकल्पका साथ अघि बढ्न आग्रह गर्नुभयो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले कार्निभलले विद्यार्थीलाई आफ्ना कला, प्रतिभा र सिर्जना प्रस्तुत गर्ने प्रभावकारी मञ्च प्रदान गरेको बताउनुभयो। विद्यार्थी आफैंले स्टल राखेर उत्पादन तथा परिकार प्रस्तुत गर्नुले ‘हामी केही गर्न सक्छौँ’ भन्ने आत्मविश्वास विकास गर्ने उहाँको भनाइ थियो।
विद्यालयका संस्थापक अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि कार्निभल आयोजना गर्न थालिएको जानकारी दिनुभयो। यस वर्ष कक्षा १ देखि १२ सम्मका विद्यार्थीले सञ्चालन गरेका ५८ वटा स्टलमा हस्तकला, विभिन्न खानाका परिकार तथा सिर्जनात्मक सामग्री प्रस्तुत गरिएको थियो। साना कक्षाका विद्यार्थीले समेत चटपटे लगायतका स्टल सञ्चालन गरेर उद्यमशीलताको अभ्यास गरेका थिए।
कार्निभलमा रुसी जादुगर ज्याक एमाजोनले जादु प्रदर्शन गर्नुभएको थियो भने विद्यार्थीले नृत्य तथा कराँतेको काता प्रस्तुत गरेका थिए। स्थानीय ‘इटरनिटी ब्याण्ड’को लाइभ म्युजिक कन्सर्टले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गर्नुभएको थियो।





