हिमालय एअरलाइन्स्का कर्मचारीद्वारा बाढीपीडितका लागि १३ लाख २० हजार सहयोग

-


     पोखरा क्लिक     
     असाेज १ गते २०८३ मा प्रकाशित


काठमाडौं, १ असोज,

हिमालय एअरलाइन्स्का कर्मचारीहरूले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १३ लाख २० हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेका छन्। कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको कुल १४ लाख ७० हजार ६ सय ६६ रुपैयाँमध्ये १० प्रतिशत रकम बाढीबाट प्रत्यक्ष प्रभावित हिमालय एअरलाइन्स्का कर्मचारीका परिवारलाई सहयोग गरिएको छ। बाँकी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

कर्मचारीहरूले संकलन गरेको रकमको चेक हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गणेश’लाई हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशूली करिडोर आसपासका बस्तीमा ठूलो जनधनको क्षति भएको थियो। बाढीका कारण कैयौँ परिवार विस्थापित हुनुका साथै घर, सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुगेको थियो। राष्ट्रिय विपद्का बेला आफ्ना कर्मचारीमार्फत सहयोग जुटाएर पीडितसम्म पुर्‍याउने पहलले मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता देखाएको हिमालय एअरलाइन्स्ले जनाएको छ।

कम्पनीका अनुसार हिमालय एअरलाइन्स्ले विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको छ। यसपटक पनि कर्मचारीहरू स्वयं सक्रिय भएर रकम संकलन गरी उद्धार कोषमा सहयोग गरेका हुन्। कम्पनीले बाढी तथा विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका प्रयास प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरेको छ।