
पोखरा,
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान)4 पोखराले आयोजना गर्ने २८औँ पोखरा सडक महोत्सवको संयोजकमा रेवान पोखराका द्वितीय उपाध्यक्ष योगेश भट्टराई चयन भएका छन्। त्यसैगरी, आगामी असोज ११ गते आयोजना हुने विश्व पर्यटन दिवस मिनि सडक महोत्सवको संयोजकमा कार्यसमिति सदस्य कृष्ण अधिकारी चयन भएका छन्।
रेवान पोखराको बिहीबार बसेको कार्यसमिति सदस्य तथा सल्लाहकारहरूको बैठकले दुवै संयोजकलाई सर्वसम्मत रूपमा चयन गरेको हो। पोखरालाई ८८“अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्य”८८का रूपमा स्थापित गर्ने उद्देश्यसहित आगामी पौष १३ देखि १७ गतेसम्म लेकसाइडस्थित फेवाताल किनारमा २८औँ पोखरा सडक महोत्सव आयोजना हुँदैछ। करिब साढे तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुने महोत्सवले अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउँदै पर्यटन गतिविधिलाई थप चलायमान बनाउने लक्ष्य राखेको छ। 4प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटनको अनुपम संगमका रूपमा स्थापित पोखराको लेकसाइडमा विगत २७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा सडक महोत्सव यसपटक २८औँ संस्करणमा प्रवेश गर्दैछ। रेवान पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको यो महोत्सव पोखराको पर्यटन प्रवर्द्धनसँग जोडिएको प्रमुख कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ। “सडक मै खाऊँ, सडक मै नाचौँ, सडक मै रमाऊँ” भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको सडक महोत्सवले खाना, संगीत र संस्कृतिलाई एउटै थलोमा जोड्दै पोखराको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै आएको छ।
महोत्सवका क्रममा स्थानीय तथा परम्परागत खानाका परिकार, सांस्कृतिक प्रस्तुति, संगीत तथा मनोरञ्जनका कार्यक्रममार्फत पर्यटकलाई आकर्षित गर्ने गरिन्छ। यसले पोखराको पर्यटनसँगै स्थानीय व्यवसाय, कला–संस्कृति, कृषि तथा समग्र पर्यटन अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको रेवान पोखराको भनाइ छ। यस वर्षको २८औँ संस्करणलाई विगतका अनुभवबाट सिक्दै थप व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउने तयारी भइरहेको रेवान पोखराले जनाएको छ। महोत्सवमार्फत पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको रोजाइको गन्तव्यका रूपमा थप स्थापित गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी, विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते आयोजना हुने मिनि सडक महोत्सवले पर्यटन क्षेत्रलाई सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ। पछिल्लो समयका विभिन्न चुनौती तथा विषम परिस्थितिका बीच पनि “पोखरा खुला छ” भन्ने सन्देश प्रवाह गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा भ्रमणका लागि प्रोत्साहित गर्ने उद्देश्यले मिनि सडक महोत्सव आयोजना गर्न लागिएको हो। रेवान पोखराले दुवै महोत्सवलाई सफल बनाउन पर्यटन व्यवसायी, स्थानीय संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय, सञ्चारमाध्यम र सम्पूर्ण पोखरेलीको सहकार्य तथा सहयोग आवश्यक रहेको जनाएको छ। महोत्सवले पोखराको पर्यटनलाई थप गतिशील बनाउँदै स्थानीय व्यवसायलाई प्रत्यक्ष लाभ पुर्याउने तथा पोखराको खाना, संस्कृति, संगीत र आतिथ्यलाई विश्व पर्यटन बजारमा थप चिनाउने अपेक्षा गरिएको छ।




