रोयल इन्फिल्डको हन्टर ३५० अब नयाँ अवतारमा, दुई नयाँ रङसहित पोखरामा सार्वजनिक

-


     पोखरा क्लिक     
     भाद्र ३१ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ३१, भदौ,

रोयल इन्फिल्डको नयाँ भेरियन्ट र दुई नयाँ रङमा पोखराको नयाँबजारस्थित क्लासिक ड्राइभको शोरुममा बुधबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । नेपालस्थित आधिकारिक बिक्रेता क्लासिक ड्राइभ प्रालिले लोकप्रिय हन्टर ३५० मोटरसाइकललाई भित्राएसंगै पोखराको आधिकारीक बिक्रेता क्लासिक ड्राइभले बुधबारदेखि बिक्रि वितरण समेत गर्न सुरु गरेको हो ।

क्लासिक ड्राइभ प्रालिका प्रवन्ध निर्देशकद्वय अनिता रानाभाट र सरस्वती गोतामे सुवेदीले संयुक्त रूपमा नयाँ हन्टर ३५० सार्वजनिक गर्नुभएको हो । नयाँ भेरियन्टलाई ‘टार्माक ब्ल्याक’ रङमा ल्याइएको छ भने टप भेरियन्टमा ‘मुम्बई यल्लो’ र ‘मुनसट ह्वाइट’ गरी दुई नयाँ रङ थपिएका छन् । हन्टर ३५० को नयाँ भेरियन्टमा डिजाइनसँगै दैनिक राइडिङलाई सहज बनाउने विभिन्न विशेषता समेटिएका छन् । यसमा एलोय ह्विल, डिजि–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएसलगायतका सुविधा उपलब्ध छन् । कम्पनीका अनुसार हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ र ‘प्योर मोटरसाइक्लिङ’को अनुभवलाई नयाँ भेरियन्टमा पनि निरन्तरता दिइएको छ ।

टार्माक ब्ल्याक भेरियन्टमा हन्टर ३५० को परिचित रोडस्टर डिजाइनलाई थप आकर्षक ढंगले प्रस्तुत गरिएको छ । यसमा एलोय ह्विलसँगै राउन्ड ह्यालोजन हेडलाम्प, डिजि–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, रोटरी स्विचगियर, स्टिच्ड सिट र स्पोर्टी ग्राब रेल राखिएको छ। सुरक्षाका दृष्टिले सिंगल च्यानल एबीएससँगै स्लिप–एन्ड–असिस्ट क्लचसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, टप भेरियन्टमा थपिएका दुई रङले हन्टर ३५० रोज्ने ग्राहकका लागि छनोटको दायरा फराकिलो बनाएको छ। मुम्बई यल्लो रङ मुम्बईको कला, चलचित्र र जीवन्त सहरी वातावरणबाट प्रेरित रहेको कम्पनीको भनाइ छ । मुनसट ह्वाइटमा भने ‘ओरायन’ अर्थात् शिकारी नक्षत्रबाट प्रेरित ग्राफिक्स तथा आकाशीय तत्व समावेश गरिएको छ । क्लासिक ड्राइभकी निर्देशक अनिता रानाभाटले हन्टर ३५० आफ्नो आकर्षक डिजाइन, चुस्त ह्यान्डलिङ र दैनिक प्रयोगमा सहजताका कारण पोखरेली राइडरमाझ लोकप्रिय बन्दै गएको बताउनुभयो । नयाँ भेरियन्ट र रङको आगमनले ग्राहकलाई आफ्नो रुचि अनुसार मोटरसाइकल छनोट गर्न थप अवसर मिल्ने उहाँको भनाइ छ ।

“हन्टर ३५० ले पोखरेली राइडरबाट पाएको माया र विश्वास हाम्रा लागि महत्वपूर्ण छ,”उहाँले भन्नुभयो, “नयाँ भेरियन्ट र रङमार्फत ग्राहकको रोजाइलाई थप विविध बनाउने प्रयास गरेका छौँ । अहिलेसम्मको यात्रामा साथ र सहयोग गर्नुहुने सबैप्रति आभारी छौँ ।” क्लासिक ड्राइभकी अर्की निर्देशक सरस्वती गोतामे सुवेदीले पनि हन्टर ३५० ले पोखरेली राइडरमाझ छुट्टै सम्बन्ध स्थापित गर्न सफल भएको बताउनुभयो। नयाँ भेरियन्ट र रङले मोटरसाइकल प्रतिको आकर्षण थप बढाउने र बजार विस्तारमा सहयोग पुग्ने उहाँको विश्वास छ ।