दयाहाङ राई दर्शक भेट्न हलमा, ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीले थपियो शो

-


     पोखरा क्लिक     
     भाद्र २९ गते २०८३ मा प्रकाशित


पोखरा,

माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा आफ्नो दबदबा कायमै राखेको छ । प्रदर्शनको चौथो दिन सोमबार पनि पोखराका हलमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । बढ्दो माउथ पब्लिसिटीसँगै चलचित्रका शोसमेत थपिएका छन् ।

पोखरा ट्रेडमलस्थित क्युएफएक्स, मिडटाउन सिनेमाज र श्रीकृष्ण चलचित्र मन्दिरमा ‘पेन्सन पट्टा’ हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको छ । पोखरामा मंगलबारका शोसमेत थपिएका छन् । क्युएफएक्सले दैनिक ६ शो, मिडटाउन सिनेमाजले ५ शो र श्रीकृष्ण चलचित्र मन्दिरले ३ शो सञ्चालन गरिरहेका छन् । चलचित्रका सबै शो हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ । सोमबार ‘पेन्सन पट्टा’का कलाकार दयाहाङ राई, पुस्कर गुरुङ, सोल गुरुङ, विश्वास गुरुङ, माया गुरुङ, मनिका गुरुङ, डिबी गुरुङ लगायतका कलाकार पोखराका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । निर्देशक एवम् लेखक माओत्से गुरुङसहितको टोलीले दर्शकसँग चलचित्रको प्रतिक्रिया लिएको थियो ।

मिडटाउन सिनेमाज र पोखरा ट्रेडमलस्थित क्युएफएक्सका दुई शोमा पुगेर नायक दयाहाङ राईले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । दर्शकको प्रतिक्रिया लिँदै उनले आफूले व्यक्तिगत रूपमा सोचेको भन्दा पछिल्लो समय चलचित्रले राम्रो माया पाइरहेको बताए । रसुवाको बाढी र ग्यासको समस्याका कारण मनोरञ्जनका लागि हल पुग्ने दर्शकको संख्या कम हुनसक्ने आफूले सोचेको भए पनि त्यसो नभएको दयाहाङले उल्लेख गरे । चलचित्रमा आफूले निभाएको ‘राजन’ पात्रलाई दर्शकले आफ्नै परिवार वा सामाजिक परिवेशभित्रको पात्रका रूपमा पाएको उनको भनाइ छ ।

कलाकार पुस्कर गुरुङले ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटी निकै सकारात्मक र बढ्दो रहेको बताए । पोखरा मात्र नभई काठमाडौंका हलमा समेत आफू पुग्दा दर्शकले दुई–दुई पटकसम्म चलचित्र हेर्न आएको उनले उल्लेख गरे । ‘हिजोभन्दा आज र आजभन्दा भोलि अझ धेरै पेन्सन पट्टाको माहोल बढ्दै गएको छ,’ पुस्करले भने । नायिका सोल गुरुङले पहिलो पटक दर्शकको प्रतिक्रिया लिन हलहलमा पुग्दा उत्साह थपिएको बताइन् । नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्दो देख्दा खुशी लागेको उनको भनाइ छ ।

निर्देशक माओत्से गुरुङले पोखरा मात्र नभई बुटवल, चितवन, लमजुङ, तनहुँ, झापा र काठमाडौंका केही स्थानमा समेत चलचित्रले राम्रो दर्शक सहभागिता पाइरहेको बताए । चलचित्र हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको र फिल्म समीक्षकबाट समेत सौहार्दपूर्ण समीक्षा आएकाले पछिल्लो समय दर्शक हलमा पुगिरहेको उनले उल्लेख गरे । ‘रिलिजको तेस्रो दिनसम्म काठमाडौंमा दर्शकको कमी थियो । तर चौथो दिन सोमबारबाट काठमाडौंमा समेत दर्शकको भीड बढ्दो छ,’ माओत्सेले भने । काठमाडौंका विभिन्न मल्टिप्लेक्समा चलचित्रलाई समय उपलब्ध गराइएको र ती हलमा दर्शकको उपस्थिति राम्रो रहेको उनको भनाइ छ ।

कास्कीको ताङतिङ र त्यसैको सेरोफेरोमा आधारित ‘पेन्सन पट्टा’ सामाजिक यथार्थवादी कथामा निर्माण भएको चलचित्र हो । परिवार, प्रेम, त्याग, समर्पण र लाहुरे परिवेशको कथाले दर्शकलाई आफ्नै जीवन र सामाजिक परिवेशसँग जोडेको निर्माण पक्षको भनाइ छ । चलचित्र हेर्न परिवार नै बोकेर हल पुग्ने दर्शकको संख्या बढ्दो रहेको छ । कतिपय दर्शकले पाँच पटकसम्म चलचित्र हेरेको समेत निर्माण पक्षले जनाएको छ । लाहुरे परिवेशको कथा भएकाले भूपू सैनिक तथा लाहुरेका परिवारले समेत चलचित्रलाई विशेष माया दिइरहेका छन् । गुरुङ समुदायका मात्र नभई विभिन्न समुदायका दर्शक हलमा उपस्थित भइरहेका छन् । दर्शकको बाक्लो उपस्थितिसँगै पोखराका हलले मंगलबारका शोसमेत बढाएका छन् । बढ्दो माउथ पब्लिसिटी र दर्शकको सकारात्मक प्रतिक्रियाले ‘पेन्सन पट्टा’को प्रदर्शन यात्रा थप उत्साहजनक बन्दै गएको छ । माओत्से गुरुङ फिल्मस ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, प्रतिक्षा गुरुङ, डिबी गुरुङ, मनिका गुरुङ, सोल गुरुङ, सुरज तमु लगायतका कलाकारको अभिनय रहेको छ । दर्शकको माया, हलमा बढ्दो भीड र थपिँदै गरेका शोले ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै गएको छ ।