
पोखरा २९, भदौं
पोखरा–९, नयाँबजारस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पछिल्लो नौ महिनाको अवधिमा करिब १८ करोड रुपैयाँ बराबरको कर्जा असुली गरी १५ करोड रुपैयाँ बराबरको बचत फिर्ता गर्न सफल भएको जनाएको छ। वित्तीय संकटबाट गुज्रिएको सहकारीलाई पुनः नियमित कारोबारमा फर्काउने प्रयासस्वरूप कर्जा असुली र बचत फिर्तालाई प्राथमिकतामा राखिएको संस्थाले जनाएको हो।
संस्थाको २७औँ वार्षिक साधारणसभामा सर्वपक्षीय विशेष समितिका सदस्य विनोद शर्मा न्यौपानेले छानबिनपछिको अवधिमा संस्थाले हासिल गरेको वित्तीय प्रगतिबारे जानकारी दिँदै कर्जा असुलीलाई अझ तीव्र बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार कर्जा असुलीबाट प्राप्त रकमलाई बचतकर्ताको रकम फिर्ता गर्न परिचालन गर्ने रणनीतिअनुसार संस्था अघि बढिरहेको छ। पछिल्लो प्रगतिले सहकारीलाई क्रमशः वित्तीय रूपमा सुधारको बाटोतर्फ लैजान सहयोग पुगेको उहाँको भनाइ थियो। बचत फिर्ताको दबाब बढेपछि केही समय असहज अवस्था सिर्जना भएको संस्थाले अहिले कर्जा असुलीलाई आफ्नो प्रमुख वित्तीय रणनीति बनाएको छ। कर्जा उठाउन सके बचतकर्ताको रकम फिर्ता गर्ने क्षमता बढ्ने भएकाले संस्थाले असुली प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ। बचतकर्ता गञ्जमान गुरुङको संयोजकत्वमा गठित सर्वपक्षीय विशेष समितिको रोहवरमा संस्थाको कारोबार सञ्चालन भइरहेको छ। समितिले सञ्चालक समितिसँग सहकार्य गर्दै बचतकर्ताको हित संरक्षण र संस्थाको वित्तीय अवस्था सुधारमा काम गरिरहेको जनाएको छ।
विशेष समितिका संयोजक गुरुङका अनुसार हाल एक लाख रुपैयाँसम्म बचत रहेका सदस्यहरूको सम्पूर्ण रकम फिर्ता गर्ने कार्य भइरहेको छ। अन्य बचतकर्ताको रकम पनि उपलब्ध स्रोत र कर्जा असुलीको अवस्थाअनुसार चरणबद्ध रूपमा फिर्ता गर्ने योजना रहेको उहाँले बताउनुभयो।
वि।सं। २०५९ साल वैशाख १२ गते स्थापना भएको पोखरा बचत तथा ऋण सहकारीमा हाल ६ सय ८२ शेयरसदस्य रहेका छन्। संस्थाको कुल शेयरपूँजी ९ करोड ५३ लाख ४४ हजार रुपैयाँ रहेको छ। संस्थामा सदस्यहरूको कुल बचत तथा निक्षेप २६ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको छ भने कर्जा लगानी ३६ करोड २७ लाख ३८ हजार रुपैयाँ पुगेको छ। यसरी हेर्दा संस्थाको वित्तीय स्वास्थ्य सुधारका लागि कर्जा असुलीको प्रभावकारिता महत्वपूर्ण हुने देखिन्छ। संस्थाका कोषाध्यक्ष हिरामणी दाहालका अनुसार गत आर्थिक वर्ष २०८२र०८३ मा संस्थाले ६ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
कर्जा लगानी र बचतको दायित्वबीचको अन्तर व्यवस्थापन गर्दै तरलता बढाउने, कर्जा असुलीलाई प्रभावकारी बनाउने र बचतकर्ताको रकम क्रमशः फिर्ता गर्ने रणनीतिमा संस्था केन्द्रित रहेको जनाइएको छ। २७औँ वार्षिक साधारणसभाका प्रमुख अतिथि तथा सहकारी बचत पीडित संघ कास्कीका अध्यक्ष किरण श्रेष्ठले सहकारी समस्याको समाधानका लागि बचतकर्ता र सञ्चालक दुवै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले सहकारी सञ्चालकलाई कानुनी कारबाहीको प्रक्रियामा लैजानु मात्र बचतकर्ताको रकम फिर्ता हुने सुनिश्चित आधार नभएको विगतका अनुभवले देखाएको उल्लेख गर्नुभयो। बचतको सुरक्षा र फिर्ताका लागि शेयरसदस्य तथा बचतकर्ता पनि आफ्नो संस्थाको वित्तीय अवस्थाबारे सचेत हुनुपर्ने उहाँको भनाइ थियो। विशेष समितिका संयोजक गञ्जमान गुरुङले पनि बचतकर्ताको हित संरक्षण गर्नु समितिको प्रमुख जिम्मेवारी रहेको बताउँदै समस्या समाधानका लागि वर्तमान सञ्चालक समितिसँग सहकार्य आवश्यक रहेको बताउनुभयो।
संस्थाका अध्यक्ष इन्जिनियर सुरेन्द्रबहादुर गोदारले सहकारीमा देखिएका समस्यालाई समाधान गर्दै संस्थालाई पूर्ववत् अवस्थामा फर्काएर नियमित कारोबार सञ्चालन गर्ने लक्ष्यसहित सञ्चालक समिति अघि बढिरहेको बताउनुभयो। बचतकर्ताको सम्पूर्ण रकम फिर्ता गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष गोदारले त्यसका लागि केही समय आवश्यक पर्ने भएकाले शेयरसदस्य तथा बचतकर्तालाई धैर्य गर्न आग्रह गर्नुभयो। उहाँले संस्थाको वित्तीय अवस्था सुधार गर्न कर्जा असुली, स्रोत व्यवस्थापन र बचत फिर्तालाई प्राथमिकतामा राखिएको बताउनुभयो। संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार आशबहादुर गुरुङले विगतका कमी–कमजोरी सुधार गर्दै सञ्चालकहरू एकताबद्ध भएर शेयरसदस्यको सुझाव र सहमतिका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो।
शेयरसदस्य क्याप्टेन बलबहादुर तिलिजाले संस्थाको पछिल्लो वित्तीय उपलब्धि र स्थानीय सञ्चालकहरूको भूमिकालाई हेर्दा बचतकर्ताले तत्काल आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै सञ्चालक समितिलाई खबरदारीसहित काम गर्ने वातावरण दिनुपर्ने धारणा राख्नुभयो। संस्थाका अध्यक्ष इन्जिनियर सुरेन्द्रबहादुर गोदारको अध्यक्षतामा सम्पन्न २७औँ वार्षिक साधारणसभाले अध्यक्ष र कोषाध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। कार्यक्रममा उपाध्यक्ष शम्भुराज बास्तोलाले स्वागत मन्तव्य राख्नुभएको थियो भने पूर्वअध्यक्ष तथा सल्लाहकार फणिन्द्रराज शर्माले पनि आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिलबहादुर के.सी.ले गर्नुभएको थियो।
१८ करोड रुपैयाँ कर्जा असुली र १५ करोड रुपैयाँ बचत फिर्ताको पछिल्लो तथ्याङ्कले पोखरा बचत सहकारी वित्तीय दबाबबाट क्रमशः बाहिर निस्कने प्रयासमा रहेको देखाएको छ। अब संस्थाको चुनौती भनेको कर्जा असुलीलाई थप प्रभावकारी बनाउँदै त्यसबाट सिर्जना हुने स्रोतलाई बचतकर्ताको रकम फिर्ता र संस्थाको नियमित वित्तीय कारोबारमा कसरी दिगो रूपमा परिचालन गर्ने भन्ने रहेको छ।




