
पोखरा, भदौ २६,
नेपालका कम्युनिस्ट तथा बामपन्थी शक्तिहरूबीच बढ्दो विभाजन, खस्किँदो जनमत र आगामी राजनीतिक दिशाबारे पोखरामा शनिबार बृहत् बहस हुँदैछ। विभिन्न धारमा विभाजित बाम दलका नेताहरूलाई एउटै मञ्चमा उभ्याएर बाम एकताको आधार, आवश्यकता र सम्भावनाबारे छलफल गर्न लागिएको हो।

पुष्पलाल मित्रता केन्द्रको आयोजनामा शनिबार बिहान ११ः३० बजे पोखराको साइमन पार्टी प्यालेसमा ‘वर्तमान राजनीतिक परिस्थितिमा बामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठी आयोजना हुँदैछ। कार्यक्रममा नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डे प्रमुख वक्ताका रूपमा सहभागी हुने आयोजकले पोखराक्लिकलाई जनाएको छ। त्यस्तै एमाले सचिव खगराज अधिकारी, नेपाली कम्युनिस्ट पार्टीका गण्डकी इन्चार्ज देवेन्द्र पौडेल, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय संयोजन समिति सदस्य तथा पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडा, राष्ट्रिय जनमोर्चाका शंकर बराल, नेकपाकी नेतृ सावित्रा दुरा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केशबहादुर परियार, नेपाली कम्युनिस्ट पार्टीका नेता श्रीनाथ बराल लगायत सहभागी हुनेछन्।
नेपालमा ठूलो बाम जनमत हुँदाहुँदै कम्युनिस्ट पार्टीहरू निरन्तर विभाजित भइरहँदा त्यसको प्रत्यक्ष असर राजनीतिक प्रभाव र निर्वाचन परिणाममा परेको बहस चलिरहेको छ। विगतमा एकताबद्ध हुँदा हासिल भएको जनसमर्थन र पछिल्ला निर्वाचनमा विभाजित भएर प्राप्त गरेको परिणामलाई तुलना गर्दै अब पनि विभाजन कायम राखे बाम शक्तिको आधार थप कमजोर हुन सक्ने नेताहरूको तर्क छ।
आयोजक पुष्पलाल मित्रता केन्द्रले यसअघि काठमाडौं, धनगढी, इटहरी र वीरेन्द्रनगरलगायतका शहरमा पनि विभिन्न कम्युनिस्ट धारका नेताहरूलाई एउटै मञ्चमा राखेर बाम एकताबारे बहस गराइसकेको जनाएको छ। केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाका अनुसार कम्युनिस्ट पार्टीहरूबीच देखिएको असन्तुष्टि, कुण्ठा, नेतृत्वको अहंकार र पदकेन्द्रित राजनीतिलाई छाडेर साझा मुद्दामा एक ठाउँमा उभिनुपर्ने आवश्यकता छ। खतिवडाले राष्ट्रियता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि समेत बाम शक्तिबीच सहकार्य र एकता आवश्यक रहेको बताएका छन्। कम्युनिस्ट शक्तिहरू विभाजित हुँदा दक्षिणपन्थी शक्तिले राजनीतिक रूपमा बलियो हुने अवसर पाएको उनको भनाइ छ।उनले बाम एकताको बहस अब भाषण र नारामा मात्र सीमित नभई व्यवहारमै देखिनुपर्नेमा जोड दिएका छन्। ‘कम्युनिस्टहरू एकताबद्ध नहुनु भनेको आफ्नै पतनको बाटो रोज्नु हो’ भन्ने उनको धारणा छ।
बहसको केन्द्रमा ‘एकता कि निरन्तर विभाजनरु’
शनिबारको कार्यक्रममा बाम दलहरूबीच सहकार्यका सम्भावित आधार के हुन सक्छन्, एकताका लागि कसले कति त्याग गर्नुपर्ने हुन्छ, मुख्य अवरोध कहाँ छ र तत्काल एकता सम्भव छ कि छैन भन्ने विषयमा बहस हुने आयोजकले जनाएको छ। झा एजेन्डामा सहमति कायम गर्ने विषय बहसको महत्वपूर्ण हिस्सा बन्ने देखिएको छ। नेपालको बाम राजनीतिमा लामो समयदेखि उठ्दै आएको ‘एकता आवश्यक छ, तर पहल कसले गर्नेरु’ भन्ने प्रश्नको जवाफ खोज्ने प्रयासका रूपमा समेत पोखराको कार्यक्रमलाई हेरिएको छ।
खतिवडाका अनुसार बाम दलहरूबीचको दूरी घटाउन निरन्तर संवाद र सार्वजनिक बहस आवश्यक छ। पार्टीहरूले एकताको कुरा गर्ने तर व्यवहारमा आफ्ना अडानबाट पछि नहट्ने प्रवृत्तिले समस्या झन् गहिरिएको उनको निष्कर्ष छ। उनले आगामी पुस्तालाई समेत निराश नबनाउन बाम दलका नेताहरूले समयमै गम्भीर निर्णय लिनुपर्ने बताएका छन्। बाम जनमत जोगाउने, विभाजित शक्ति एक ठाउँमा ल्याउने र नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने विषय पोखरा बहसका प्रमुख सन्देश बन्ने अपेक्षा गरिएको छ।




