
दीननाथ बराल,
पोखरा १६, भदौं,
रसुवा, भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख २७ हजार ७ सय ७६ रुपैया सहयोग गरेको छ । रेबान पोखराका अध्यक्ष विश्वराज पौडेल सहितको टोलीले आज (मंगलबार) कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई उक्त रकम बराबरको भौचर हस्तान्तरण गर्नु भएको हो ।

संस्थाको सामाजिक उत्तरदायित्वको भावना सहित रेबान पोखरासँग आबद्ध रेष्टुरेन्ट तथा क्याफे व्यवसायी, संस्थाका पदाधिकारी र सदस्यहरूको सहकार्यमा रकम संकलन गरी आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अध्यक्ष पौडेलले पोखराक्लिकलाई बताउनु भयो । “विपद्को समयमा व्यवसाय मात्र होइन, समाजप्रतिको दायित्व पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले रेबान पोखरा, पदाधिकारी तथा सदस्यहरूको सहकार्यमा रकम संकलन गरी बाढी प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हौं,” अध्यक्ष पौडेलले भन्नुभयो ।
राहत कोषमा रेबान पोखराको तर्फबाट ५० हजार, पूर्व अध्यक्ष नरेश भट्टराई एवं माउन्ट कैलाश रिसोर्ट प्रालिबाट २ लाख ५ हजार ५ सय ५५, प्रथम उपाध्यक्ष एवं टेम्पल ट्री रिसोर्टबाट २ लाख ११ हजार १ सय ११, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल तथा टेम्पल बेल बुटिक रिसोर्टबाट १ लाख ५ हजार ५ सय ५५, कार्यकारी सदस्य योगेश भट्टराई तथा विजिबि क्याफे परिवारबाट १ लाख, कार्यकारी सदस्य सुनिल भट्टराई तथा म्याजेष्टिक लेक फन्ट होटलबाट १ लाख, कार्यकारी सदस्य सफल थापा तथा जर्मन बेकरी परिवारबाट १ लाख, पूर्व अध्यक्ष एवं गोपी बहादुर भट्टराई तथा प्यारा डिसो क्याफे एण्ड वारबाट ५१ हजार, कार्यकारी सदस्य सुमन भट्टराई तथा किवी ब्याकपेपरबाट ५१ हजार सहयोग प्राप्त भएको रेवान पोखराले जनाएको छ ।
त्यसै गरी बुमह्याङ रेष्टुरेण्टबाट २५ हजार, लक्ष्मण रेष्टुरेण्टबाट २५ हजार ५ सय ५५, कफि ब्रेकबाछ २५ हजार, फेवा थकालीबाट २५ हजार, माया पप रेष्टुरेण्टबाट २५ हजार, सेन्ट्रल भिल्ला रिसेप्सन प्रालिबाट १५ हजार, स्मार्ट तन्दुरीबाट १५ हजार, बि ह्याप्पी रेष्टुरेण्टबाट १५ हजार, फेवा लेक रेष्टुरेण्टबाट १५ हजार, जाभिस्टा क्याफेबाट १० हजार, द ओल्ड लानहुआ चाइनिज रेस्टुरेन्टबाट २८ हजार, द ओल्ड लानहुआ चाइनिज रेस्टुरेन्टका कर्मचारीबाट ३० हजार सहयोग प्राप्त भएको रेवान पोेखराले जनाएको छ । रेबान पोखराले विपद्को समयमा व्यवसायीहरूको तर्फबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहभागिता जनाउँदै आएको जनाएको छ । उक्त अभियानमा रेवानका पूर्व अध्यक्ष नरेश भट्टराई, सुर्यबहादुर भुजेल लगायतको सहभागिता रहेको थियो । रेवान सहित २१ संघ संस्था तथा व्यक्तिबाट न्यूनतम १० हजार देखि २ लाख ११ हजारसम्म सहयोग संकलन भएको हो ।





