युनाईटेड क्लब पोखरा द्वारा रसुवा बाढी प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष मार्फत १ लाख सहयोग

-


     पोखरा क्लिक     
     भाद्र १५ गते २०८३ मा प्रकाशित


पोखरा,

युनाईटेड क्लब पोखराले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक लाख सहयोग गरेको छ । सरकारले आर्थिक सहयोग संकलन गर्न एकद्वार प्रणाली मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा क्लवले नगद एक लाख सहयोग गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रकम संकलन पश्चात क्लबका अध्यक्ष लोक बहादुर थापा सहितको पदाधिकारीको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ समक्ष जानकारी गराएका छन ।

सो अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले युनाईटेड क्लबको सहयोग प्रति धन्यवाद प्रकट गर्दै विपदको अफ्ठ्यारो अवस्थामा जस्ले जे सहयोग गर्न सक्छ त्यही सहयोग गर्न समेत आग्रह गरे । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले सामाजिक काम संगै युनाईटेड क्लबले विपदमा परेकाहरुलाई हरेक वर्ष आवश्यक सहयोग गर्दै आइरहदा अहिले रसुवा बाढी प्रभावितहरुलाई सहयोग गरेको बताए । आगामी दिनमा पनि विपदमा परेकाहरुलाई युनाईटेड क्लवले आवश्यक सहयोग गर्ने समेत थापाको भनाइ रहेको थियो । क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले युनाईटेड क्लबले स्थापना कालदेखि पोखरामा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र विशेष गरी नेपालीहरुको महान पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरी विपद ब्यवस्थापन कोष मार्फत विपदमा परेकाहरुलाई आवश्यक सहयोग गर्दै आइरहेको बताए ।

युनाईटेड क्लबका द्धितिय उपाध्यक्ष तथा विपद ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँले युनाईटेड क्लबद्धारा स्थापित विपद ब्यवस्थापन कोष मार्फत देशलाईनै मर्माहत बनाएको रसुवा भोटेकोशी बाढी प्रभावितहरुलाई सहयोग गर्नु क्लबको दायित्व भएको बताउदै उक्त कार्यमा हरेक संघ संस्था, ब्याक्तिहरुको समेत साथ र सहयोग हुनुपर्ने बताए । विपद ब्यवस्थापन कोष मार्फत युनाईटेड क्लबले पश्चिम कैलाली देखि पूर्वको सिन्धुुपाल्चोक सम्म विपदमा परेका प्रभावितहरुलाई राहत तथा आवश्यक सहयोग गर्दै आइरहेको र अघिल्लो वर्षमा पनि जेन्जी आन्दोलनबाट क्षती भएका सरकारी कार्यालय र वडा कार्यालयहरुमा समेत आवश्यक सामाग्री प्रदान गरेको तिमिल्सिनाको भनाइ थियो । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, द्धितिय उपाध्यक्ष तथा विपद ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, सचिव सन्तोष कार्की लगायतको उपस्थिती रहेको थियो ।