तीजको कार्यक्रम स्थगित गर्दै पोखरा–२२ का तीन संस्थाले राहत कोषमा १ लाख १ हजार दिए

-


     पोखरा क्लिक     
     भाद्र १५ गते २०८३ मा प्रकाशित


पोखरा, भदौ १५,

देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पोखरा महानगरपालिका–२२ का तीन संस्थाले तीज कार्यक्रम स्थगित गर्दै राहत कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् । पोखरा–२२ मा आयोजना गर्ने तयारी गरिएको वडा नं.२२ स्तरीय खुला तीज गीत प्रतियोगिता तथा तीज विशेष कार्यक्रम देशमा देखिएको विपद्को संवेदनशील अवस्थालाई मध्यनजर गर्दै स्थगित गरिएको कालिमाटी शान्ति स्तुप टोल विकास संस्थाका अध्यक्ष दिनेश बरालले जानकारी दिए ।

कार्यक्रम आयोजक कालिमाटी शान्ति स्तुप टोल विकास संस्था, सृजनशील क्लब र कालिमाटी शान्ति स्तुप मोटर बाटो उपभोक्ता समितिको संयुक्त निर्णयबाट कार्यक्रम स्थगित गरी कार्यक्रमका लागि छुट्याइएको १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उहाँले जनाउनु भयो । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आयोजक संस्थाहरूले चाडपर्व र मनोरञ्जनभन्दा विपद्मा परेका नागरिकको पीडामा साथ दिनु अहिलेको प्राथमिकता भएको बताएका छन्। “चाडपर्व र मनोरञ्जनभन्दा अहिले मानवीय सहयोग महत्वपूर्ण छ। विपद्मा परेका नागरिकको दुःखमा साथ दिन सकियो भने त्यही नै हाम्रो लागि ठूलो मानवीय दायित्व हो,” अध्यक्ष बरालले भने।

त्यस्तै, सृजनशील क्लबका अध्यक्ष बोधराज बराल (कृष्ण) ले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएकाले तीज कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रकम राहतका लागि प्रदान गर्ने निर्णय गरिएको बताए। “अहिले रमाइलो गर्नेभन्दा विपद्मा परेका परिवारको पीडामा मलम लगाउने समय हो। हाम्रो सानो सहयोगले भए पनि प्रभावित परिवारलाई राहत पुग्ने विश्वास गरेका छौँ,” उनले भने। आयोजक संस्थाहरूले विपद्का कारण ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत, उद्धार र पुनःस्थापनाका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन्। तष्विर एआई जेनेरेटेड ।