प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी सर्वसम्मत चयन

-


     पोखरा क्लिक     
     भाद्र १४ गते २०८३ मा प्रकाशित


पोखरा,

प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी पुनः सर्वसम्मत चयन भएका छन्। क्लबको शनिबार पोखरामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी तीन वर्षका लागि गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनबाट उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा प्रकाशचन्द्र अधिकारी, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ ‘रोजी’ तथा सहसचिवमा बालकुमारी पौडेल ‘तारा’ चयन भएका छन्। सदस्यमा संजय थापा र बसन्त गिरी निर्वाचित भएका छन्। यसअघि साधारणसभाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले गरेका थिए। उद्घाटन सत्रमा क्लबका सचिव गौरव त्रिपाठी र कोषाध्यक्ष राजु गिरीले प्रस्तुत गरेका प्रतिवेदनमाथि बन्द सत्रमा व्यापक छलफल गरी पारित गरिएको थियो।

क्लबले यसअघि साउन २५ गते भदौ १३ गते अधिवेशन गर्ने मिति तय गरेको थियो। तर भदौ १० गते रसुवामा आएको बाढीका कारण देश विपत्तिको सामना गरिरहेका बेला तामझामसहित कार्यक्रम गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै अधिवेशन तथा साधारणसभा सामान्य रूपमा सम्पन्न गरिएको नवनिर्वाचित अध्यक्ष एकराज गिरीले बताए। ‘देश शोकमा रहेका बेला तामझामसहित कार्यक्रम गर्न उचित ठानेनौँ। त्यसैले सामान्य रूपमा अधिवेशन र साधारणसभा सम्पन्न गरेका हौँ,’ गिरीले भने। गिरीले आगामी दिनमा प्रेस क्लब गण्डकीलाई क्लबको उद्देश्यअनुरूप थप सक्रिय बनाउँदै रचनात्मक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। २०७९ सालमा स्थापना भएको प्रेस क्लब गण्डकीले हरेक वर्ष ५० हजार रुपैयाँ राशिको प्रेस क्लब पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। क्लबले २०८१ सालमा पहिलो पुरस्कार पोखराका अग्रज फोटो पत्रकार कृष्णमणि बराललाई प्रदान गरेको थियो।

अध्यक्ष गिरीका अनुसार यस वर्ष २०८२ र २०८३ सालका लागि प्रदान गर्नुपर्ने पुरस्कारसमेत वितरण गरिनेछ। पुरस्कारका लागि छुट्टै दाता नभएकाले विभिन्न कार्यक्रम सञ्चालन गरेर खर्च कटौती गरी रकम जम्मा गर्दै पुरस्कार प्रदान गर्ने गरिएको उनले बताए। ‘गत वर्ष विभिन्न कारणले पुरस्कार प्रदान गर्न सकेनौँ। त्यसैले दुई वर्षको पुरस्कार यस वर्ष वितरण गर्नेछौँ,’ गिरीले भने। नवनिर्वाचित सचिव प्रकाशचन्द्र अधिकारीले प्रेस क्लब गण्डकीलाई सबै पत्रकारको साझा संस्थाका रूपमा अघि बढाउने बताए। उनले पत्रकारिताको विकाससँगै पत्रकारहरूको पेशागत हित र अधिकारका लागि क्लबले प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।