
दीननाथ बराल,
पोखरा ५ भदौं,
बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीसाधनको दायरा विस्तार गर्दै चेतकका दुई नयाँ विद्युतीय स्कुटर सी ३५०३ र सी२५०१ पोखरामा सार्वजनिक गरेको छ । नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा नयाँ मोडलहरू पोखराको नयाँबजारस्थित इच्छाशक्ति अटोमोबाइल्स प्रालिमा शुक्रबार आयोजित समारोहबीच सार्वजनिक गरेको हो ।
कार्यक्रममा इच्छाशक्ति अटोमोबाइल्सका अध्यक्ष इच्छामान बुद्धाचार्य, प्रबन्ध निर्देशक आघोषमान बुद्धाचार्य, सञ्चालक गङ्गा बुद्धाचार्य, सुभेच्छा गुभाजु र अभिप्शा बुद्धाचार्यले संयुक्त रूपमा नयाँ चेतक स्कुटरको अनावरण गर्नुभयो । हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडका महाप्रबन्धक युगेन्द्र श्रेष्ठले नेपालमा चेतक विद्युतीय स्कुटरको माग अत्यधिक रहेको बताउनुभयो । उहाँले विशेषगरी युवा पुस्तामाझ चेतक लोकप्रिय बन्दै गएको दाबी गर्दै नयाँ दुई मोडलले नेपाली ग्राहकको फरक आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । श्रेष्ठले भन्नुभयो, “चेतकको दायरा विस्तारसँगै नेपालमा हरित यातायातको क्षेत्रमा बजाजको यात्रा थप उत्साहजनक चरणमा प्रवेश गरेको छ । गत वर्ष चेतकले पाएको उत्साहजनक प्रतिक्रियापछि यी दुई नयाँ मोडलमार्फत बजाजले अझ फराकिलो ग्राहकवर्गको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ । नेपाली राइडरहरूको बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर फरक डिजाइन र विशेषतासहितका यी विद्युतीय स्कुटर ल्याइएको हो।”
सी२५०१ मा ११३ किलोमिटरसम्मको यात्रा क्षमता

चेतक सी२५०१ दैनिक सहरी आवागमनलाई लक्षित गरी तयार गरिएको विद्युतीय स्कुटर भएको कम्पनीको दाबी छ । पूर्ण धातुको बाहिरी संरचनामा निर्माण गरिएको यस स्कुटरमा २.५ किलोवाट घण्टा क्षमताको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको कम्पनी पोखराका बिक्रि प्रमुख रामेश्वर घिमिरेले बताउनु भयो । कम्पनीका अनुसार सी२५०१ ले प्रमाणित आईडीसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ११३ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ । तीव्र चार्ज प्रणालीमार्फत ब्याट्रीलाई शून्यदेखि ८० प्रतिशतसम्म २ घण्टा २५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । सी२५०१ मा रङ्गीन एलसीडी सूचना पटल, ताररहित ब्लुटुथ सम्पर्क, सङ्गीत चलाउने तथा रोक्ने सुविधा, पछाडि चलाउने सुविधा र २५ लिटर क्षमताको सिटमुनिको भण्डारण स्थान उपलब्ध छ । यो स्कुटर चम्किलो सक्रिय कालो, ओपालेसेन्ट चाँदी, क्लासिक सेतो, रेसिङ रातो, समुद्री नीलो–हरियो तथा म्याट मिस्टी पहेँलो गरी छ रङमा उपलब्ध हुनेछ । यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
सी३५०३ मा १५१ किलोमिटरसम्मको यात्रा क्षमता

त्यस्तै, चेतक सी३५०३ मा परम्परागत चेतकको आकर्षक शैलीलाई आधुनिक प्रविधिसँग जोडिएको छ। पूर्ण धातुको संरचनामा निर्माण गरिएको यस स्कुटरमा ३.५ किलोवाट घण्टा क्षमताको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार सी३५०३ ले प्रमाणित आईडीसी मापदण्डअनुसार एकपटकको चार्जमा १५१ किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ । सी३५०३ मा स्पष्ट डिजिटल एलसीडी सूचना पटल, ताररहित ब्लुटुथ सम्पर्क, आउने फोन तथा सन्देशको सूचना र ३५ लिटर क्षमताको फराकिलो सिटमुनिको भण्डारण स्थान रहेको छ ।
घोडाको नालजस्तो आकारको आकर्षक दिउँसो बल्ने बत्तीले पुरानो चेतकको मौलिक डिजाइनको झल्को दिने कम्पनीले जनाएको छ। यसले पुरानो शैली र आधुनिक स्वरूपलाई संयोजन गरेको छ । सी३५०३ इन्डिगो धातुमय, ब्रुकलिन कालो, म्याट चार्कोल खरानी र साइबर सेतो गरी चार रङमा उपलब्ध हुनेछ । यसको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ । कार्यक्रममा प्रबन्ध निर्देशक आघोषमान बुद्धाचार्यले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल तथा स्मरणीय बनाउन योगदान पु¥याउने सम्पूर्ण अतिथि, आयोजक, सहभागी तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । कम्पनीका अनुसार चेतक सी२५०१ र सी३५०३ दुवै मोडल नेपालभरका छनोट गरिएका बजाज विक्रेतामार्फत बुकिङका लागि उपलब्ध छन्। साथै, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा आगन्तुकले यी नयाँ मोडल प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने गरी विशेष अनुभव क्षेत्रसमेत राखिएको छ।
बजाज नेपालले विद्युतीय सवारीसाधनका ग्राहकलाई सहज र भरपर्दो स्वामित्व अनुभव प्रदान गर्न आफ्नो सेवा सञ्जाललाई थप सुदृढ गर्दै लैजाने जनाएको छ । हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडले दशकौंदेखि नेपालमा सवारीसाधन तथा यातायात समाधानको क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले नेपालभर उच्च गुणस्तरका र भरपर्दा यातायातका साधन उपलब्ध गराउने प्रतिबद्धताका साथ काम गर्दै आएको जनाएको छ । त्यस्तै, बजाज अटो लिमिटेड विश्वका प्रमुख दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधन निर्माता कम्पनीमध्ये एक हो । नवीनता, मजबुत इन्जिनियरिङ र स्वच्छ प्रविधिमा आधारित यातायात समाधानका लागि बजाज विश्वभर परिचित छ । नयाँ चेतक मोडल सार्वजनिक भएसँगै नेपालमा बजाजको विद्युतीय सवारीसाधनको दायरा थप फराकिलो भएको कम्पनीको दाबी छ ।




