पर्यटनको राजधानी पोखरा हुँदै प्रधानमन्त्री गाउँको अन्नपूर्ण इको भिलेजमा बास बस्दै, शनिबार मुस्ताङ जाने

-


     पोखरा क्लिक     
     भाद्र ५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ५ भदौ,

पर्यटनको राजधानी पोखरा निजी भ्रमणमा आउनुभएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बास बस्नुभएको छ। प्रधानमन्त्री शाह शुक्रबार दिउँसो श्रीमती सविना काफ्ले र छोरीसहित निजी गाडीमा सडकमार्ग हुँदै पोखरा आउनुभएको हो।

पोखरा आइपुगेपछि प्रधानमन्त्री शाह स्थलमार्गबाटै अस्ताम पुग्नुभएको हो। ग्रामीण परिवेशमा रहेको इको भिलेजबाट मौसम खुलेका बेला अन्नपूर्ण हिमशृंखलासँगै पोखराको हेमजा बजार र आसपासका मनोरम दृश्य देख्न सकिन्छ। शान्त र प्राकृतिक वातावरणमा रहेको यो स्थानमा प्रधानमन्त्री शाहले पारिवारिक समय बिताउने बताइएको छ। प्रधानमन्त्रीको निजी भ्रमणलाई लिएर अस्ताम क्षेत्रमा सुरक्षा व्यवस्था भने कडा पारिएको छ। उहाँ इको भिलेजमा पुगिसकेको सुरक्षा निकायले पुष्टि गरेको छ। प्रधानमन्त्रीको बसाइका कारण इको भिलेजमा अन्य पर्यटकका लागि बुकिङसमेत नलिइएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री शाह शनिबार हेलिकप्टरमार्फत मुस्ताङ जाने तयारी गरिएको छ। मुस्ताङ भ्रमणका क्रममा त्यहाँका विभिन्न क्षेत्रको अवलोकनसँगै स्थानीयसँग भेटघाटसमेत गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। उहाँ मुस्ताङ भ्रमण सकेर आइतबार पोखरा हुँदै काठमाडौं फर्कने कार्यक्रम तय भएको बताइएको छ। प्रधानमन्त्रीको आगमनले माछापुच्छ्रे गाउँपालिकाका स्थानीयमा समेत उत्साह थपिएको छ। गाउँपालिका अध्यक्ष मिन गुरुङसहितको टोलीले प्रधानमन्त्री आफ्नो गाउँमा आउनु स्थानीयका लागि खुसीको विषय भएको प्रतिक्रिया दिएको छ। अध्यक्ष गुरुङले प्रधानमन्त्रीसँग भेटघाटका लागि आफूहरू प्रतीक्षामा रहेको र प्रत्यक्ष भेट हुने अपेक्षा रहेको बताउनुभएको छ।

परिवारसहित प्रधानमन्त्री सडकमार्ग हुँदै काठमाडौं–पोखरा आउनुले स्थानीयमा थप खुसी छाएको बताइएको छ। निजी भ्रमण भए पनि प्रधानमन्त्रीले गाउँमै आएर बसाइँ गर्नुलाई स्थानीयले आफ्नो क्षेत्रको पर्यटन प्रवर्द्धनका दृष्टिले समेत सकारात्मक रूपमा लिएका छन्। सुरक्षा निकायका एक अधिकारीका अनुसार प्रधानमन्त्रीको भ्रमण निजी भएकाले उहाँ पोखरा आउनुअघि सुरक्षा निकायलाई औपचारिक जानकारी गराइएको थिएन। प्रधानमन्त्री पोखरा आइपुगेपछि मात्र भ्रमणबारे सुरक्षा निकायलाई जानकारी गराइएको थियो। फोटोः एआई जेनेरेटेड ।