
पोखरा,
वैदेशिक रोजगारीका क्रममा १२ वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) मा काम गर्दा हासिल गरेको अनुभवलाई स्वदेशमै व्यवसायमा रूपान्तरण गर्दै मोहन शाहले पोखरा–१७, बिरौटाबाट अरबिक स्वाद पस्किरहेका छन्। करिब १५ महिनादेखि सञ्चालनमा रहेको ‘याला फोर्नो एण्ड शोरमा रेस्टुरेन्ट एण्ड क्याफे’मा मानाकिस, हुमुस, कबाब, शोरमालगायतका विभिन्न अरबिक परिकार उपलब्ध छन्।

यूएईमा लामो समय काम गर्दा त्यहाँको खाद्य संस्कृति, परिकार बनाउने शैली, ग्राहकको रुचि तथा रेस्टुरेन्ट व्यवस्थापनबारे नजिकबाट सिकेको अनुभवलाई शाहले स्वदेश फर्किएपछि आफ्नै व्यवसायमा प्रयोग गरेका हुन्। विदेशमा सिकेको सीप र अनुभवलाई नेपालमै उपयोग गर्ने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनी बताउँछन्। काभ्रे जिल्लाको रोशी गाउँपालिकाका स्थायी बासिन्दा शाहले करिब ४० लाख रुपैयाँ लगानीमा व्यवसाय सुरु गरेका हुन्। पोखरामा अरूभन्दा फरक स्वाद र परिकार उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको रेस्टुरेन्टले पछिल्लो समय बिरौटामा आफ्नो पहिचान बनाउन थालेको उनको भनाइ छ।
‘याला’को अर्थ छिटो र ‘फोर्नो’को अर्थ ओभन हुने भएकाले रेस्टुरेन्टको नामले नै यसको विशेषता झल्काउने शाह बताउँछन्। यहाँ छिटो तयार हुने अरबिक फास्टफुडका साथै ओभनमा पकाइने परिकारलाई प्राथमिकता दिइएको छ। अरबिक परिकार नेपाली ग्राहकका लागि नयाँ स्वाद भएकाले उनीहरूलाई सहज रूपमा त्यसतर्फ आकर्षित गर्न मूल्यलाई पनि विशेष ध्यान दिइएको शाहको भनाइ छ। पोखरामा विभिन्न आर्थिक तथा सामाजिक वर्गका मानिसको बसोबास रहेकाले आफ्नो बजेटअनुसार सबैले खान सक्ने गरी परिकारको मूल्य निर्धारण गरिएको उनले बताए।
“खाना स्वादिलो मात्र भएर हुँदैन, ग्राहकले आफ्नो बजेटअनुसार खान सक्ने हुनुपर्छ,” शाह भन्छन्। विदेशमा लोकप्रिय अरबिक स्वादलाई पोखरामै उपलब्ध गराउने प्रयासले आफूलाई उत्साहित बनाएको उनले बताए। उनका अनुसार स्वादसँगै सुपथ मूल्य कायम गर्नुको उद्देश्य नेपाली ग्राहकलाई नयाँ परिकारसँग परिचित गराउनु पनि हो।
पर्यटनको राजधानीका रूपमा परिचित पोखरालाई प्राकृतिक सुन्दरतासँगै खानाका विविध परिकारका लागि पनि आकर्षक गन्तव्य बनाउनुपर्ने शाहको धारणा छ। नेपाल आउने पर्यटकले घुमफिरसँगै स्थानीय र अन्तर्राष्ट्रिय स्वादको अनुभव लिन सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको बुझाइ छ। यही सोचबाट पोखरामा अरबिक परिकारको व्यवसाय सुरु गरेको उनले बताए।रेस्टुरेन्टमा कार्यरत कर्मचारीका लागि पनि व्यवसाय सिकाइको अवसर बनेको शाहको भनाइ छ। यूएईमा लामो समय काम गर्दाको अनुभवलाई उनले कर्मचारी व्यवस्थापन तथा दैनिक कार्य सञ्चालनमा प्रयोग गर्दै आएका छन्। दक्ष जनशक्ति खोज्नु, कर्मचारी व्यवस्थापन गर्नु र व्यवसायको दैनिक सञ्चालनलाई व्यवस्थित राख्नु चुनौतीपूर्ण भए पनि निरन्तर मेहनत र लगनशीलताले सफलता हासिल गर्न सकिनेमा उनी विश्वस्त छन्।
शाहका लागि रेस्टुरेन्ट आम्दानीको माध्यम मात्र होइन, विदेशमा सिकेको सीप र अनुभव नयाँ पुस्तासँग बाँड्ने अवसर पनि बनेको छ। काम गर्दै सिक्ने वातावरण निर्माण गर्न सके युवालाई स्वदेशमै रोजगारी र व्यवसायका अवसर सिर्जना गर्न सकिने उनको विश्वास छ। काभ्रेको रोशी गाउँपालिकाका शाह अहिले पोखरा–२९, लेखनाथमा बसोबास गर्ने योजनामा छन्। व्यवसायका क्रममा पोखरासँग जोडिएका उनी अब यही शहरलाई आफ्नो कर्मथलो र भविष्यसँग जोडिएको ठाउँका रूपमा लिन थालेका छन्। “पोखराले मलाई व्यवसाय गर्ने अवसर दिएको छ। अब यही शहरलाई आफ्नो बनाउँदै अगाडि बढ्ने चाहना छ,” उनले भने। वैदेशिक रोजगारीबाट फर्किएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसायमा प्रवेश गरेका शाह पछिल्लो १५ महिनाको अनुभवबाट थप उत्साहित छन्। बिरौटाबाट सुरु भएको व्यवसायलाई विस्तार गर्दै पोखराका अन्य क्षेत्रमा शाखा खोल्ने र त्यसपछि नेपालका विभिन्न शहरसम्म ‘याला फोर्नो एण्ड शोरमा’को सेवा पु¥याउने उनको योजना छ।
व्यवसाय विस्तारका क्रममा लगानी, दक्ष जनशक्ति र व्यवस्थापन चुनौतीका रूपमा रहे पनि विदेशमा हासिल गरेको अनुभव, मेहनत र निरन्तरताका आधारमा आफ्नो लक्ष्य पूरा गर्न सकिने शाहको विश्वास छ। बिरौटाबाट अरबिक परिकारको स्वाद पस्कँदै अघि बढेको ‘याला फोर्नो एण्ड शोरमा’ले आगामी दिनमा पोखरासहित देशका विभिन्न शहरमा सेवा विस्तार गर्दै आफ्नो पहिचान फराकिलो बनाउने लक्ष्य राखेको छ।्




