
पोखरा,
लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले पोखरा–१७ स्थित धार्मिक तथा पर्यटकीय स्थल ॐकारेश्वर महादेव मन्दिर परिसरमा जडान गरिएका सिसिटिभी क्यामेरा मन्दिर सञ्चालक समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ । बिहीबार मन्दिर परिसरमै आयोजित एक कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक ३२५ आई नेपालका डिष्ट्रिक गभर्नर लायन सूर्य बहादुर केसीको प्रमुख आतिथ्यतामा रु १ लाख ५५ हजार लागतमा जडान गरिएका ८ वटा उच्च प्रविधियुक्त सिसिटिभी क्यामेरा हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर लायन सूर्य बहादुर केसीले लायन्सको यो वर्षको नारा केयरिङ बाइ शेयरिङ अन्तर्गत सेवा, नेतृत्व र भाइचाराका माध्यमबाट समाजमा रूपान्तरण ल्याउने अभियान सुरु गरिएको बताए । उनले कामको संख्या गणना गर्नुभन्दा प्रभावकारितामा जोड दिँदै जहाँ आवश्यक छ त्यहाँ लायन छ, माइ क्लव माइ पावरको अवधारणा साकार पार्न आह्वान गरे । साथै, आजको डिजिटल युगमा मन्दिरको सुरक्षा र संरक्षणका लागि क्लबले गरेको कार्य उदाहरणीय रहेको उल्लेख गरे ।
कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर ९पीडिजी० लायन राम बसेलले सुन्दर ॐकारेश्वर मन्दिरको सुरक्षामा सिसिटिभीले ठूलो सहयोग पु¥याउने बताउँदै यसअघि क्लबले मुस्ताङचोकस्थित पार्दी माध्यमिक विद्यालयमा पनि सिसिटिभी जडान गरेको स्मरण गराए । जोन चियरपर्सन लायन रावत तामाङ गोम्जाले चार वर्षअघि स्थापित यस क्लबले प्रविधिसँग जोडिएका कामलाई प्राथमिकता दिँदै आएको र साउनको सोमबार मन्दिर दर्शनका क्रममा सुरक्षाको आवश्यकता महसुस गरी ८ वटा सिसिटिभी जडान गरिएको बताए । यसअघि पोखराको पादी मावि र जेन्जी आन्दोलन पछि जिल्ला प्रहरी कार्यालयमा समेत आफुहरुले सिसिटिभी जडान गरी हस्तान्तरण गरेको स्मरण गरे ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देव बहादुर थापाले यस सहयोगले समुदायको सुरक्षा, धार्मिक पर्यटन प्रवद्र्धन र भक्तजनको विश्वास अभिवृद्धि गर्ने बताउँदै जडान गरिएका प्रणालीको उचित संरक्षण र प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका अध्यक्ष लायन चन्द्र बहादुर खत्री ९विशाल० को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक लायन चन्द्र बहादुर बुढाले धन्यवाद मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन लायन स्वयंभू कुँवरले गरेका थिए ।




