
पोखरा, साउन ८,
पोखराका सडकमा दुई दिनको अन्तरालमै बसको ठक्करबाट दुई जनाले ज्यान गुमाएका छन्। बुधबार राति र शुक्रबार दिउँसो भएका छुट्टाछुट्टै दुर्घटनामा एक मोटरसाइकल चालक र एक पैदलयात्रीको मृत्यु भएपछि सडक सुरक्षाप्रति पुनः गम्भीर प्रश्न उठेको छ ।

जेब्राक्रस प्रयोग गर्दा पनि दुर्घटना हुनुले चालक, पैदलयात्री र सम्बन्धित निकाय सबैले सडक सुरक्षामा अझ बढी जिम्मेवार बन्नुपर्ने आवश्यकता देखिएको स्थानीयको भनाई रहेको छ । आज (शुक्रबार) दिउँसो करिब २ः५० बजे पोखरा महानगरपालिका–१० उत्तमचोकस्थित जेब्राक्रसबाट सडक पार गरिरहेका स्याङ्जा घर भई हाल पोखरा–१० बस्दै आएका राम (राजु) थापालाई पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ प ००३० नम्बरको पर्यटक बसले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका थापाको टाउकोमा गहिरो चोट लागेको थियो। स्थानीयले तत्काल उपचारका लागि ग्यालेक्सी अस्पताल पु¥याए पनि दिउँसो ३ः०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनामा संलग्न बस चालक स्याङ्जाको भिरकोट नगरपालिका–३ का ३७ वर्षीय दिनेश थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वरिष्ठ नायव निरीक्षक यामनाथ पनेरूले जानकारी दिएका छन् ।
यसअघि बुधबार राति पोखरा महानगरपालिका–१५ ढुंगेसाँघुमा ग १ ज ८२५० नम्बरको हायसले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पोखरा–१५ टुटुङ्गाका १९ वर्षीय सौगात भन्ने लोकबहादुर गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको थियो। मोटरसाइकलमा सवार अर्का एक जना घाइतेको उपचार पश्चिम क्षेत्रीय अस्पताल पोखरामा भइरहेको छ। हायस चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । लगातार दुई दिनमा बसको ठक्करबाट दुई जनाको ज्यान गएपछि पोखरामा सडक सुरक्षा थप चुनौतीपूर्ण बन्दै गएको देखिएको छ। ट्राफिक नियमको पालना, सवारीको गति नियन्त्रण, जेब्राक्रस नजिक विशेष सावधानी तथा पैदलयात्रीलाई प्राथमिकता दिने संस्कृतिको विकास अहिलेको आवश्यकता बनेको छ । पोखरामा सडक पार गर्दा जेब्राक्रस पनि सुरक्षा सुनिश्चित नहुने स्थानियले बताए । जेब्राक्रस, विद्यालय क्षेत्र र व्यस्त बजारमा गति घटाएर पैदलयात्रीलाई प्राथमिकता दिनुपर्ने ट्राफिक नियममा उल्लेख गरिएको छ । फोटो एआईजेनेरेटेड




