
जया पौडेल,
पोखरा ३२, असार
पोखराको पर्यटकीय गन्तव्य अन्नपूर्ण केबलकारले साउन महिनाभर आन्तरिक पर्यटकलाई लक्षित गर्दै विशेष छुट योजना सार्वजनिक गरेको छ। साउन महिनाको प्रत्येक सोमबार बेलुका ४ बजेदेखि केबलकारमा यात्रा गर्ने नेपाली यात्रुले केवल २५० मै जाने–आउने सेवा उपलब्ध गराउने भएको कम्पनीका जनरल म्यानेजर दिनेश पौडेलले पोखराक्लिकलाई बताए ।
साउन सोमबार शिवभक्त, सराङकोट धाम पुग्ने दर्शनार्थी तथा पोखराको प्राकृतिक सौन्दर्य अवलोकन गर्न चाहने आन्तरिक पर्यटकलाई लक्षित गरेर यो योजना ल्याइएको उनले बताए । यसले धार्मिक पर्यटनसँगै मनोरञ्जनात्मक यात्रालाई पनि थप सहज बनाउने कम्पनीको विश्वास छ। यस्तै, सराङकोट धामस्थित ५१ फिट अग्लो गणेश मूर्तिको दर्शन गर्न जाने भक्तजनका लागि पनि कम्पनीले छुटलाई प्राथमिकता दिएको छ। प्रत्येक मंगलबार सराङकोट धाम दर्शन गर्ने नेपाली नागरिकलाई २० प्रतिशत छुट उपलब्ध गराइनेछ भने प्रत्येक सोमबार धाममा आयोजना हुने महाआरतीमा सहभागी हुने यात्रुका लागि साँझ ४ बजेपछिको केबलकार यात्रा रु। २५० मा हुनेछ।
कम्पनीले वर्षायामका कारण साउन १ गतेदेखि भदौ मसान्तसम्म बिहानको सेवा अस्थायी रूपमा बन्द रहने जनाएको छ। जनरल म्यानेजर पौडेलका अनुसार उक्त अवधिमा नियमित सेवा हरेक दिन बिहान ९ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म सञ्चालन हुनेछ। यात्रा गर्नुअघि सञ्चालन समयबारे जानकारी लिएर मात्र आउन कम्पनीले आग्रह गरेको छ। पोखरा–१८, सेदीबगर (फेवाताल किनार) बाट सराङकोटसम्म २.४ किलोमिटर दूरी रहेको अन्नपूर्ण केबलकारले करिब ८–९ मिनेटमै यात्रुलाई गन्तव्य पुर्याउँछ। केबलकारमा १८ वटा टावर र सामान बोक्ने सहित १८ वटा गोंडोला सञ्चालनमा छन्। प्रत्येक गोंडोलामा ८ जना यात्रु अट्ने क्षमता रहेको छ भने प्रतिघण्टा करिब ५०० जना यात्रु ओसारपसार गर्न सकिने कम्पनीले जनाएको छ।
केबलकार यात्राका क्रममा अन्नपूर्ण हिमश्रृंखला, फेवाताल, हरिया वनजंगल र पोखरा उपत्यकाको मनोरम दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ। हाल नेपाली यात्रुका लागि जाने–आउने भाडा रु। ७०० र भारतीय पर्यटकका लागि रु। १,००० निर्धारण गरिएको छ। कम्पनीका अनुसार पछिल्लो समय दैनिक औसत करिब २०० जना यात्रुले सेवा लिइरहेका छन्। अन्नपूर्ण केबलकारमार्फत प्रत्यक्ष रूपमा ३० जनाले रोजगारी समेत पाएका छन्।






