
दीननाथ बराल,
पोखरा, असार २४,
पर्यटनको राजधानीका रूपमा परिचित पोखराले अब ऊर्जा उत्पादनको क्षेत्रमा पनि अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। करिब पाँच वर्षको निर्माण अवधि र ५ अर्ब ५ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजना परीक्षण उत्पादनमा प्रवेश गरेको छ। आगामी साउनको पहिलो सातादेखि आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको परियोजनाले पोखराक्लिकलाई जनाएको छ ।

पोखरा महानगरपालिका–३३ मुसेटुँडा क्षेत्रमा निर्माण गरिएको आयोजनाले असार १५ गतेदेखि परीक्षणस्वरूप विद्युत उत्पादन सुरु गरेको हो। हाल उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा जडान गरिएको छ। आयोजना निर्देशक इन्जिनियर दीपक बरालका अनुसार नेपाल विद्युत प्राधिकरणको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएसँगै विद्युत उत्पादन सुरु गरिएको हो। प्रारम्भिक १५ दिन परीक्षण उत्पादन गरिने र त्यसपछि व्यावसायिक रूपमा विद्युत बिक्री सुरु गरिने उहाँले जानकारी दिनुभयो।२०७८ साल मंसिरमा निर्माण सुरु भएको आयोजना कोभिड–१९ महामारी, राजनीतिक अस्थिरता, वन क्षेत्रको स्वीकृतिमा भएको ढिलाइ, प्रशासनिक जटिलता तथा प्राविधिक चुनौतीका कारण निर्धारित समयभन्दा करिब एक वर्ष ढिलो सम्पन्न भएको हो। चुनौतीपूर्ण अवस्थाबीच आयोजना निर्माण सम्पन्न हुनु पोखराका लागि ऊर्जा पूर्वाधार विकासको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
आयोजनाको बाँध पोखरा–३३ तिकलाङमा निर्माण गरिएको छ भने पावरहाउस तल्लो पुँडीटारमा अवस्थित छ। करिब ३ हजार १ सय ६ मिटर लामो सुरुङ र १ हजार २ सय मिटर लामो पेनस्टकमार्फत सेती खोलाको पानी पावरहाउससम्म पुर्याइएको छ। पावरहाउसमा जडान गरिएका ११–११ मेगावाट क्षमताका दुईवटा टर्बाइनबाट कुल २२ मेगावाट विद्युत उत्पादन हुनेछ। उत्पादित विद्युत करिब २ किलोमिटर लामो प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने व्यवस्था गरिएको छ। निर्माणका क्रममा सुरुङ खन्ने बेला कमजोर भू–बनोट, प्रसारण लाइन विस्तारका लागि वन क्षेत्रको स्वीकृति प्राप्त गर्न भएको ढिलाइ तथा विभिन्न प्रशासनिक प्रक्रियाले आयोजना सम्पन्न गर्न अपेक्षाभन्दा बढी समय लागेको निर्देशक बरालले बताउनुभयो। ती सबै चुनौती पार गर्दै आयोजना परीक्षण उत्पादनसम्म आइपुगेको उहाँको भनाइ छ।
सेतीखोला हाइड्रोपावर लिमिटेडमा डोल्मा इम्प्याक्ट फण्डमार्फत विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाको लगानी रहेको छ। कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ। पोखरालाई पर्यटनको मात्र नभई स्वच्छ ऊर्जा उत्पादनको केन्द्रका रूपमा पनि स्थापित गर्न थप मद्धत पुग्ने बरालले जनाउनु भयो । स्थानीय रोजगारी, पूर्वाधार विकास, लगानी विस्तार तथा ऊर्जा सुरक्षामा समेत आयोजनाले दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।






