
पोखरा,
कास्कीका विभिन्न स्थानीय तहदेखि गाउँ–गाउँसम्म उपभोक्ताबाट प्राप्त जनगुनासोका आधारमा बजार अनुगमनलाई तीव्रता दिइएको छ। जिल्ला अनुगमन समिति, कास्कीको टोलीले पछिल्लो अनुगमनका क्रममा अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित हाम्रो भण्डारी रेष्टुरेण्ट एण्ड खाजाघरलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले उपभोक्ताको स्वास्थ्य, खाद्य सुरक्षासँगै बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लाका विभिन्न पालिका तथा गाउँ–गाउँसम्म पुगेर नियमित अनुगमन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार नागरिकबाट प्राप्त जनगुनासोका आधारमा अनुगमनलाई थप प्रभावकारी बनाइएको हो। बरालका अनुसार अनुगमनका क्रममा उक्त रेष्टुरेण्टमा आवश्यक सरसफाइको अभाव रहेको, मूल्यसूची नराखिएको, नापतौलका सामग्री समयमै नवीकरण नगरिएको तथा फोहोर व्यवस्थापन लापरबाहीपूर्ण रूपमा गरिएको भेटिएपछि उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्थाअनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।
उहाँले भूपि शेरचन राजमार्गअन्तर्गत पर्ने उक्त रेष्टुरेण्टमा दैनिक ठूलो संख्यामा सेवाग्राही आउने गरे पनि आधारभूत सरसफाइ तथा व्यवसाय सञ्चालनका न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएकाले कारबाही अपरिहार्य भएको बताउनुभयो। रेष्टुरेण्टका सञ्चालक मनहरि भण्डारीलाई एक साताभित्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालय, कास्कीमा उपस्थित हुन निर्देशनसमेत दिइएको उहाँले जानकारी दिनुभयो। यसैबीच, सोही क्षेत्रको पञ्चासे भ्यू पोइन्ट एण्ड रातामाटे खाजाघरमा लेबलविहीन खाद्य सामग्री बिक्री–वितरण नगर्न निर्देशन दिइएको छ। साथै मूल्यसूची अनिवार्य रूपमा राख्न र व्यवसाय दर्ता तथा नवीकरण तत्काल गर्न सचेत गराइएको छ। त्यसैगरी माउण्टेन भ्याली रेष्टुरेन्टलाई मूल्यसूची सार्वजनिक गर्न, व्यवसाय दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ भने चुइने पहरा खाजाघरलाई सरसफाइमा विशेष ध्यान दिन, मूल्यसूची राख्न र व्यवसाय नवीकरण गर्न निर्देशन दिइएको छ।
उता, पोखरा महानगरपालिका–५, मालेपाटनस्थित हाउस अफ बेकरीमा गरिएको अनुगमनका क्रममा उत्पादन गरिएका केही बेकरी सामग्रीमा उत्पादन मिति र उपभोग्य मिति उल्लेख नभएको भेटिएको थियो। त्यसपछि तत्काल सबै उत्पादनमा उत्पादन मिति र उपभोग्य मिति अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिइएको जिल्ला अनुगमन समितिले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी बरालले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने कुनै पनि लापरबाही स्वीकार्य नहुने स्पष्ट पार्दै कानुन विपरीत व्यवसाय सञ्चालन गर्ने जो–कोहीमाथि अनुगमनलाई निरन्तरता दिँदै आवश्यक कारबाही गरिने बताउनुभयो। उहाँले व्यवसायीलाई कानुनी मापदण्ड पालना गर्दै स्वच्छ, सुरक्षित र जिम्मेवार व्यवसाय सञ्चालन गर्न आग्रहसमेत गर्नुभयो।







