प्राकृतिक पदयात्रा र चरा पर्यटन प्रवद्र्धनका लागि पोखरामा स्थलगत अध्ययन सुरु(भिडियो सहित) पोखरामा १ सय ५३ प्रजातिका चरा भेटियो,

-


     पोखरा क्लिक     
     असार २२ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १९ असार,

पोखरा महानगरपालिका र पोखरा पंक्षी समाजले प्राकृतिक पदयात्रा तथा चरा पर्यटनको दीर्घकालीन विकासका लागि बेगनास क्षेत्रमा दुईदिने स्थलगत अध्ययन कार्यक्रम सुरु गरेको छ । प्राकृतिक पदयात्रा तथा चरा अवलोकन रुट निर्धारण, अध्ययन प्रतिवेदन प्रस्तुति, महानगरको पक्षी सूची (बर्ड चेकलिस्ट) तयार गर्ने, ‘महानगर पक्षी’ घोषणा गर्न सिफारिस गर्ने तथा चरा अध्ययनका लागि लामो समय बस्ने पर्यटक आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको महानगरले जनाएको छ ।

पोखरा महानगरपालिका–३१ स्थित बेगनास र पचभैया जंगललाई केन्द्र बनाएर सञ्चालन गरिएको कार्यक्रममा चरा विज्ञ, पर्यटन व्यवसायी, संरक्षणकर्मी, सरकारी निकायका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनु भयो । अध्ययन टोलीले पचभैया जंगलसहित अन्य सम्भावित चरा अवलोकन क्षेत्रको स्थलगत अध्ययन गरेको हो।
पर्यटकीय नगरी पोखरा ताल, नदी तथा सिमसार क्षेत्रले सम्पन्न भएकाले चरा पर्यटनको अत्यन्त सम्भावना बोकेको क्षेत्र मानिन्छ। फेवातालसहित बेगनास, रूपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीताल प्रत्येक वर्ष विभिन्न प्रजातिका स्थानीय तथा बसाइँसराइ गर्ने चराको आश्रयस्थल बन्दै आएका छन्।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराका नौवटा ताल र समृद्ध जलाधार क्षेत्रका कारण चरा पर्यटनको अथाह सम्भावना रहेको बताउनुभयो । विशेषगरी साविक लेखनाथ क्षेत्रका सात तालमा दुर्लभ प्रजातिका चराको पर्याप्त बसोबास रहेकाले ती क्षेत्रको पर्यटन प्रवद्र्धनमा चरा पर्यटनलाई प्राथमिकताका साथ अघि बढाइने उहाँले उल्लेख गर्नुभयो । पोखरा पन्छी समाजका निर्वतमान अध्यक्ष मनशान्त घिमिरेका अनुसार हालै सम्पन्न पाँचदिने चरा गणनामा ८ हजार ४ सय ४६ वटा चरामध्ये १ सय ५३ प्रजाति अभिलेख गरिएको छ । समाजले पोखरामा तीनदिने ‘बर्ड वाचिङ प्याकेज’ समेत विकास गर्ने तयारी गरेको जनाएको छ । थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, कम्बोडिया, ताइवान र भियतनामलगायत मुलुकबाट बसाइँसराइ गरेर विभिन्न प्रजातिका चरा पोखरा आउने गरेको घिमिरेले जानकारी दिनुभयो।

चरा विज्ञ हेमन्त ढकालले खास्टे–निउरेनी ताललाई चराका लागि उत्कृष्ट वासस्थानका रूपमा उल्लेख गर्दै वर्षभरि पानीको उपलब्धता र प्राकृतिक वातावरणका कारण यहाँ दुर्लभ प्रजातिका चरा पाइने बताउनुभयो। ताल क्षेत्रमा बढ्दो मोटरबोट सञ्चालन तथा अनावश्यक ध्वनि प्रदूषणले चराको बासस्थानमा असर पार्न थालेकाले संरक्षणमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले गण्डकी प्रदेश चरा पर्यटनका दृष्टिले विश्वस्तरकै महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गर्दै नेपालमा पाइने ८ सय ८७ प्रजातिका चरामध्ये करिब ६ सय प्रजाति गण्डकी प्रदेशमै अभिलेख भएको जानकारी दिनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै करिब ५ सय प्रजातिका चरा पाइने भएकाले संरक्षण र पर्यटनलाई सँगसँगै अघि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो। नेपाल पर्यटन बोर्ड गण्डकी, पोखरा भ्रमण वर्ष सचिवालय, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा पन्छी समाज तथा विभिन्न पर्यटन र संरक्षणसम्बद्ध संस्थाको सहभागिता रहेको अध्ययन कार्यक्रमबाट पोखरामा चरा पर्यटनको नयाँ मार्ग पहिचान, संरक्षण रणनीति निर्माण तथा पर्यटकको बसाइ अवधि लम्ब्याउने आधार तयार हुने अपेक्षा गरिएको छ ।