
पोखरा,
पोखरा रंगशालामा अभ्यास, प्रतियोगिता तथा अन्य गतिविधिमा सहभागी हुने खेलाडी, प्रशिक्षक, खेलकुदकर्मी, दर्शक तथा आगन्तुकले अब निःशुल्क शुद्ध पिउने पानीको सुविधा पाउने भएका छन्। पोखरा महानगरपालिका वडा नं। १० ले रंगशालामा शुद्ध पिउने पानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले करिब १ लाख ५० हजार रुपैयाँ लागतको युरोगार्ड आरओ वाटर प्युरिफायर जिल्ला खेलकुद विकास समिति कास्कीलाई हस्तान्तरण गरेको हो। शुक्रबार रंगशालामा आयोजित कार्यक्रममा वडा अध्यक्ष राजेश गुरुङले उक्त फिल्टर हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा वडा अध्यक्ष गुरुङले आफू पनि पूर्वखेलाडी भएकाले रंगशालामा खेलाडीहरूले भोग्ने समस्या नजिकबाट अनुभव गरेको उल्लेख गर्दै नयाँ पुस्ताका खेलाडीलाई सहज र आधारभूत सुविधा उपलब्ध गराउने उद्देश्यले फिल्टर जडान गरिएको बताए। उनले स्वच्छ पिउने पानी खेलाडीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको संरक्षण र उचित उपयोगमा सबैको साझा जिम्मेवारी रहने उल्लेख गरे।गुरुङले रंगशालाको संरक्षण, पूर्वाधार विकास तथा खेलकुद प्रवर्द्धनका अन्य कार्यक्रमहरूमा पनि वडा नं। १० ले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले वडाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै रंगशालाको समग्र विकासका लागि स्थानीय तहसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए। उनले रंगशालालाई वातावरणमैत्री बनाउने अभियान, सुरक्षा सुदृढीकरणका लागि सिसी क्यामेरा जडान तथा महानगरपालिकासँगको सहकार्यमा पार्किङ व्यवस्थापनलाई समेत प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए।
निर्माता अन्नपूर्ण ट्रेडिङका अनुसार जडान गरिएको युरोगार्ड आरओ वाटर प्युरिफायरबाट तातो र चिसो दुवै प्रकारको शुद्ध पिउने पानी उपलब्ध हुनेछ। फिल्टरले प्रतिघण्टा १०० लिटरसम्म पानी शुद्धीकरण गर्न सक्ने क्षमता राख्नुका साथै १०० लिटर पानी भण्डारण गर्न सक्ने सुविधा पनि रहेको छ। जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डीबी नेपालीका अनुसार यसअघि पनि पोखरा उद्योग वाणिज्य संघले पोखरा रंगशालामा युरोगार्ड आरओ फिल्टर उपलब्ध गराएको थियो। नयाँ फिल्टर जडानसँगै रंगशालामा आउने खेलाडी तथा खेलकुदकर्मीलाई शुद्ध पिउने पानीको सुविधा अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।







