
पोखरा, असार १८,
पञ्चासे क्षेत्रको पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको सहयोगमा आयोजना गरेको दुईदिने ‘पञ्चासे पर्यटन प्रवर्द्धन कार्यक्रम’ सम्पन्न भएको छ। “पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ जना महिला पत्रकार सहभागी भएका थिए। कार्यक्रममा सहभागी पत्रकारहरूले पोखरा महानगरपालिका–२३ अन्तर्गत पर्ने पञ्चासे क्षेत्रका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदासहित स्थानीय होमस्टे, जैविक विविधता र पर्यटकीय सम्भावनाको प्रत्यक्ष अवलोकन गरेका थिए।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य पञ्चासे क्षेत्रको पर्यटन सम्भावनालाई सञ्चारमाध्यममार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रभावकारी रूपमा प्रवर्द्धन गर्दै आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्नु हो। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले महिला पत्रकारहरूको अवलोकन भ्रमणले पञ्चासेको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। पत्रकारहरूले समाचार, लेख, फिचर तथा डिजिटल माध्यममार्फत पञ्चासेको प्राकृतिक र सांस्कृतिक विशेषतालाई व्यापक रूपमा उजागर गर्ने भएकाले यस कार्यक्रमले पर्यटन क्षेत्रलाई सकारात्मक टेवा पुग्ने उहाँले बताउनुभयो।
सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कडेलले महिला पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिसँगै पर्यटन पत्रकारितालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। यस्ता अवलोकन भ्रमणले पत्रकारहरूलाई स्थानीय पर्यटनबारे प्रत्यक्ष अनुभव प्राप्त हुने र त्यसलाई तथ्यपरक तथा प्रभावकारी ढंगले समाचार र फिचरमार्फत प्रस्तुत गर्न सहज हुने उहाँको भनाइ थियो। पञ्चासे होमस्टे समितिका सञ्चालक होमनाथ पौडेलले सञ्चारिका समूहको भ्रमणले पञ्चासे क्षेत्रको प्रचार–प्रसारमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। सञ्चारमाध्यममार्फत पञ्चासेको पहिचान विस्तार भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र त्यसबाट स्थानीय पर्यटन व्यवसाय, रोजगारी तथा समुदायको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो।
भ्रमणका क्रममा सहभागी पत्रकारहरूले पञ्चासे क्षेत्रको पर्यटन सम्भावना, पूर्वाधार विकास, वातावरण संरक्षण, स्थानीय संस्कृति र जैविक विविधताको संरक्षण तथा पर्यटनमार्फत स्थानीय समुदायको आर्थिक समृद्धिका विषयमा समेत छलफल गरेका थिए। सहभागीहरूले पञ्चासेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र, स्थानीय समुदाय र सञ्चार क्षेत्रबीच अझ सुदृढ समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले यस्ता प्रवर्द्धनात्मक कार्यक्रमले ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशले पनि आफ्नो पत्रकारितामार्फत पञ्चासे क्षेत्रको पर्यटन सम्भावनालाई अझ सशक्त रूपमा उजागर गर्दै पर्यटन प्रवर्द्धनमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएको छ।






