पोखराको बजेट १४ प्रतिशतले घट्यो, आउदो बर्षका लागि ७ अर्ब १५ करोड ,पर्यटन, पूर्वाधार, शिक्षा र डिजिटलमा प्राथमिकता

-


     पोखरा क्लिक     
     असार ५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल.
पोखरा, ५ असार,

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७ अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १४ प्रतिशत (१ अर्ब १९ करोड ८७ लाख) ले कम हो।

उपमेयर मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार पोखरामा बजेट प्रस्तुत गर्दै चालु खर्च ५५.१५ प्रतिशत र पूँजीगत खर्च ४४.८५ प्रतिशत विनियोजन गरिएको बताउनु भएको छ । आउँदो बर्षको लागि बजेट वक्तव्य सार्वजनिक गर्दै उहाँले संघीय सरकारबाट कुल ३ अर्ब १८ करोड ६० लाख, प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार र आन्तरिक तथा राजस्व बाँडफाँडमार्फत ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार संकलन गर्ने लक्ष्य राखिएको उहाँले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।

आर्थिक विकास र पूर्वाधारमा जोड

महानगरले आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। पूर्वाधारतर्फ सडक, पुल, खानेपानी, शहरी विकास तथा पर्यटकीय संरचनाका लागि करिब १ अर्ब ६९ करोड ९ लाख विनियोजन गरिएको छ। समग्रमा पूर्वाधार तथा शहरी विकासका लागि २ अर्ब ८९ करोड ५५ लाख छुट्याइएको छ। त्यसै गरी फेवाताल संरक्षण, बसपार्क व्यवस्थापन, पोखरा सभागृह पुनर्निर्माण र विभिन्न रणनीतिक परियोजनालाई निरन्तरता दिइने भएको छ ।

बजेटले पोखरालाई पर्यटन राजधानीको रूपमा थप सुदृढ बनाउने उद्देश्यसहित पर्यटन तथा खेलकुद प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिइएको छ। खेल पर्यटनका लागि मात्र ६६ लाख विनियोजन गरिएको छ। यसअन्तर्गत ड्रागन बोट रेस, क्रस कन्ट्री ट्रायथलन, प्याराग्लाइडिङ, साइकल टुर, हाइकिङ, फुटबल, क्रिकेट, टेनिस लगायतका प्रतियोगिता सञ्चालन गरिनेछ। पर्यटन पूर्वाधार, लेक–टु–लेक साइकल ट्र्याक, फेवा इको ट्रेल तथा साहसिक खेलकुदलाई जोड दिइएको छ। कृषि उत्पादन वृद्धि र बजारीकरणका लागि ३ करोड ६८ लाख विनियोजन गरिएको छ। सिँचाइ तथा भूमि व्यवस्थापनका लागि थप रु। ५२ लाख छुट्याइएको छ। कृषि आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकलाई बजारसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ । शिक्षा क्षेत्रमा १ अर्ब ८५ करोड ६३ लाख विनियोजन गरिएको छ। सामुदायिक विद्यालय नर्स कार्यक्रमका लागि रु। ३ करोड र दिवा खाजा कार्यक्रमका लागि रु। ४ करोड छुट्याइएको छ।

स्वास्थ्य क्षेत्रमा कुल रु। ४१ करोड ३६ लाख विनियोजन गरिएको छ। शिशुवा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि रु। १ करोड २० लाख छुट्याइएको छ। दीर्घरोगी उपचार, टीबी फ्री पालिका कार्यक्रम र आधारभूत स्वास्थ्य सेवालाई निरन्तरता दिइनेछ। महानगरले “डिजिटल पोखरा” अवधारणालाई अघि बढाउँदै घरनक्सा पास, राजस्व भुक्तानी, सिफारिस तथा घटना दर्ता लगायतका सेवाहरूलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने जनाएको छ। सेवा प्रवाहलाई एकीकृत सूचना प्रणालीमा आबद्ध गर्दै प्रशासनिक दक्षता वृद्धि गर्ने लक्ष्य राखिएको छ।

पोखरा महानगरपालिकाले आगामी बजेटमार्फत पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र डिजिटल शासनलाई मुख्य आधार बनाउँदै समुन्नत र अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय शहर निर्माण गर्ने लक्ष्य राखेको छ। तर घटेको बजेट र सीमित स्रोतबीच योजनाको प्रभावकारी कार्यान्वयन ठूलो चुनौती देखा परेको अर्थ विज्ञहरुले बताएका छन् । विहिबार पोखराका मेयर धनराज आचार्यले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुतः गरेका थिए ।