सोमबारदेखि पोखरा–काठमाडौं रुटमा जगदम्बाको अत्याधुनिक बस सेवा सञ्चालन, भाडादर २१ सय, शौचालय र मिनीबार सहितका सेवा

-


     पोखरा क्लिक     
     श्रावण १७ गते २०८३ मा प्रकाशित


दीननाथ बराल
पोखरा, साउन १७

यातायात क्षेत्रमा अत्याधुनिक बस सेवा भित्राउदै आएको पोखरा जगदम्बा ट्राभल्सले भोलि(सोमबार) देखि पुनः थप परिस्कृति अत्याधुनिक बस सेवा संचालन गर्ने भएको छ । पोखरा–काठमाडौं सडक यात्रालाई थप सुरक्षित, आरामदायी र सुविधासम्पन्न बनाउने उद्देश्यसहित पोखरा जगदम्बा ट्राभल्सले सोमबारदेखि अत्याधुनिक भीआईपी लक्जरी बस सेवा सञ्चालनमा ल्याउने भएको कम्पनीले जनाएको छ ।

पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले यात्रुको सुविधा र गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रियस्तरका सुविधायुक्त बस सञ्चालनमा ल्याइएको जानकारी दिए। उहाँका अनुसार यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनु मात्र नभई यात्राकै अनुभवलाई सुरक्षित, सहज र स्मरणीय बनाउने लक्ष्यसहित सेवा विस्तार गरिएको हो।नयाँ बसमा विद्युत् स्विचमार्फत तल–माथि गर्न मिल्ने रिक्लाइनिङ सिट, थाइ–रेस्टसहितका फराकिला सिट, नेपालको पहाडी सडकका लागि उपयुक्त डबल सस्पेन्सन प्रणाली, वातानुकूलित (एसी) सेवा, मोबाइल चार्जिङ पोर्ट, खानेपानी, शौचालय तथा मिनीबारको सुविधा उपलब्ध छ। साथै यात्रुका लागि चिया–कफी र लञ्चको व्यवस्थासमेत गरिएको कम्पनीले जनाएको छ। कम्पनीले करिब तीन करोड रुपैयाँ लगानीमा दुईवटा नयाँ सुविधासम्पन्न बस थप गर्दै दैनिक पोखरा–काठमाडौं–पोखरा सेवा सञ्चालन गर्न लागेको हो।

कम्पनीका अनुसार लञ्चसहित एकतर्फी भाडा दुई हजार १०० रुपैयाँ निर्धारण गरिएको छ भने लञ्च नलिने यात्रुले एक हजार ७०० रुपैयाँमै यात्रा गर्न सक्नेछन्। बस दैनिक पोखराबाट बिहान ७ बजे पर्स्याङस्थित जगदम्बा ट्राभल्सको कार्यालयबाट तथा बिहान ७ः३० बजे पर्यटन बसपार्कबाट छुट्नेछ। काठमाडौंबाट भने बिहान ७ः३० बजे बालाजुबाट सेवा सञ्चालन हुनेछ। अध्यक्ष अधिकारीका अनुसार प्रत्येक बसमा करिब एक करोड ५० लाख रुपैयाँ लगानी गरिएको छ। आधुनिक प्रविधि र यात्रुमैत्री सुविधासहितको यो सेवा पोखरा–काठमाडौं रुटमा सडक यात्राको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ।

शनिबार आयोजित डेमो यात्रामा सहभागी पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले बसको सुविधा अन्तर्राष्ट्रियस्तरको रहेको बताउँदै विदेशको लक्जरी बसमा यात्रा गरेजस्तो अनुभूति भएको प्रतिक्रिया दिइन्। चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले बसमा यात्रा गर्दा जहाजको यात्राजस्तै अनुभव भएको बताए। पूर्वपत्रकार केशव भण्डारीले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका तथा लामो दूरीका यात्रुका लागि बस अत्यन्त उपयोगी हुने धारणा व्यक्त गरे।