नेलम्बो नेपालद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

-


     पोखरा क्लिक     
     श्रावण १७ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १७ साउन,

नेलम्बो नेपालले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले विगतका बर्षदेखि जारी राखेको उक्त अभियान अन्र्तगत चालु आर्थिक बर्ष २०८३÷८४ का लागि कक्षा ११ का नयाँ बिद्यार्थी र कक्षा १२ का बिद्यार्थीहरुको नविकरण सहित ५६ जना बिद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको संस्थाका अध्यक्ष एकदेव देवकोटाले बताउनु भयो ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिकाका विभिन्न १५ वटा विद्यालय र क्याम्पसबाट छनोट भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ । संस्थाले न्यूनतम १२ हजार रुपैयाँदेखि अधिकतम ६३ हजार रुपैयाँसम्म प्रति विद्यार्थी छात्रवृत्ति उपलब्ध गराउँदै आएको अध्यक्ष देवकोटाले बताउनु भयो । साथै, आवेदनका आधारमा छनोट भएका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक खरिदका लागि जनही ३ हजार ५ सय रुपैयाँसमेत सहयोग प्रदान गरिएको कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले बताउनु भयो । अध्यक्ष देवकोटाले नेलम्बो नेपालले विगतदेखि नै प्रत्येक वर्ष करिब ११ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति तथा शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। उहाँले संस्था कुनै व्यक्ति वा नेताभन्दा नीतिअनुसार सञ्चालन भइरहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानव सेवाका क्षेत्रमा निरन्तर काम गरिरहेको बताउनुभयो । समाजमा शिक्षा र वातावरणबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन सबैको साझा भूमिका आवश्यक रहेको उहाँको भनाइ थियो ।

त्यसैगरी, विद्यार्थी प्रेरणा परियार (कक्षा ११), दीपा गिरी (कक्षा १२), हरि गिरी (कक्षा १२), आशिष पौडेल (कक्षा १२) ले छात्रवृत्तिका कारण अध्ययनलाई निरन्तरता दिन सहज भएको अनुभव सुनाउँदै आफूहरूजस्ता धेरै विद्यार्थी यस कार्यक्रमबाट लाभन्वित भएको बताउनु भयो । कार्यक्रममा अभिभावकका तर्फबाट क्रान्तिरमण पोखरेल तथा शिक्षकका तर्फबाट माछापुच्छ्रे माध्यमिक विद्यालय, अन्नपूर्ण–२ का कृष्णप्रसाद अधिकारी लगायतले छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न महत्वपूर्ण टेवा पुगेको धारणा व्यक्त गर्नुभयो । संस्थाले हरेक बर्ष शिक्षा, स्वास्थ्य तथा खेलकुद तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको सिनियर कार्यक्रम अधिकृत समिका बस्नेतले बताउनु भयो ।



This will close in 20 seconds