
दीननाथ बराल
पोखरा, जेठ ३०,
पर्यटनको राजधानी पोखरामा आउदो असार ७ गते “मेयर कप तथा राष्ट्रिय क्रस कन्ट्री साइक्लिङ दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका तथा पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा एवं कास्की जिल्ला साइक्लिङ संघको सह–आयोजनामा असार ७ गते महिला तथा पुरुष एवं जुनियर तर्फका विधामा उक्त दौड हुने तयारी गरिएको प्रतियोगिताका संयोजक शंकर भण्डारीले बताउनु भयो ।
प्रतियोगिता पोखरा महानगरपालिका–२१ फेदिपाटनबाट सुरु हुने भएको छ भने प्रतियोगिताका लागि निर्धारण गरिएको रुट फेदिपाटनदेखि निर्मलपोखरी क्षेत्रसम्म करिब पाँच किलोमिटर दुरीमा संचालन हुने भएको उहाँले जनाउनु भयो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीले जनही ३० हजार रुपैयाँ, द्वितीयले २० हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले असार ५ गतेभित्र दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । दर्ताका लागि नागरिकताको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइज फोटो तथा जुनियर खेलाडीका हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य गरिएको छ । कास्की जिल्ला तथा पोखरा महानगरपालिका बाहिरबाट सहभागी हुने खेलाडीहरूलाई नियमानुसार यातायात खर्चको व्यवस्था गरिने आयोजकले जनाएको छ । पोखरा महानगरको खेलकुद महोत्सव–२०८३ अन्तर्गत उक्त प्रतियोगिता हुन लागेको हो ।
यसैबीच, खेलकुद महोत्सव–२०८३ को औपचारिक उद्घाटन शनिबार पोखरा रंगशालामा गरिने तयारी अन्तिम चरणमा पुगेको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताउनु भयो । महोत्सवले पोखरालाई खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित गर्न तथा युवा खेलाडीहरूको प्रतिभा विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।





