अन्नपूर्ण डेमा जेठ २० गते दोस्रो संस्करणको अन्नपूर्ण रेस हुने

-


     पोखरा क्लिक     
     जेठ १२ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १२ जेठ

विश्वकै चर्चीत अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा दोस्रो संस्करणको अन्नपूर्ण रेस प्र्रतियोगिता आयोजना हुने भएको छ । अन्नपूर्ण पर्यटन महोत्सव समिति, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ म्याग्दीको आयोजनामा अन्नपूर्ण डे अर्थात् जेठ २० गते म्याराथन प्रतियोगिताको रुपमा संचालन गर्ने उद्धेश्य अनुसार हाल ३८ किलोमिटर दौड सञ्चालन गर्न लागिएको समितिले जनाएको छ ।

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ऐतिहासिक दिवसलाई स्मरण गर्दै आयोजना गर्न लागिएको प्रतियोगिता अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनसँगै साहसिक खेल पर्यटन विकासमा केन्द्रित रहने प्रतियोगिता संयोजक लोकबहादुर फगामीले बताउनु भयो । उक्त दौड अन्नपूर्ण प्रथम हिमालको आधार शिविरस्थित पञ्चकुण्ड तालबाट सुरु भएर नारच्याङ गाउँमा आएर सम्पन्न हुनेछ । समुद्री सतहदेखि करिब ४ हजार १ सय मिटर उचाइमा रहेको आधार शिविरबाट सुरु हुने दौड मौरिस हर्जोग पदमार्ग हुँदै सञ्चालन गरिने सचिव तेज बहादुर गुरुङले बताउनु भयो ।

“अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षे ऐतिहासिक सन्दर्भलाई खेल पर्यटनसँग जोड्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिएका हौं,” संयोजक फगामीले भन्नुभयो, “यसले म्याग्दीको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेका छौं ।” आधार शिविरबाट सुरु हुने दौड भुस्केटमेला, गुफाफाँट, फुतफुते झरना, हुमखोला, छोटेपा हुँदै नारच्याङ गाउँमा पुगेर टुंगिनेछ । अन्नपूर्ण पर्यटन महोत्सव समितिका सचिव तेजबहादुर गुरुङले प्रतियोगितामा जिल्लाभित्रका स्थानीय तहका खेलाडीलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार अन्नपूर्ण गाउँपालिकाका प्रत्येक वडाबाट पाँच÷पाँच जना तथा अन्य स्थानीय तहबाट दुई÷दुई जनाका दरले प्रतियोगी सहभागी हुनेछन् ।

प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ प्रथम हुने खेलाडीले समान १ लाख रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुनेले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । अन्य उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिने तयारी गरिएको छ । सचिव गुरुङले अन्नपूर्ण डे केवल खेलकुदमा सीमित नभई पर्यटन, संस्कृति र स्थानीय पहिचानसँग जोडिएको विशेष उत्सवका रूपमा मनाउन लागिएको बताउनुभयो । “अन्नपूर्ण क्षेत्रको प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र स्थानीय संस्कृतिलाई विश्वसामु चिनाउने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो । फ्रान्सेली नागरिक मौरिस हर्जोग नेतृत्वको टोलीले विसं २००७ जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण गरेको दिनको सम्झनामा प्रत्येक वर्ष अन्नपूर्ण डे मनाइँदै आएको छ । पछिल्ला वर्षहरूमा अन्नपूर्ण क्षेत्रमा खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्नपूर्ण रेस प्रतियोगितालाई पनि महोत्सवको मुख्य आकर्षणका रूपमा अघि बढाइएको छ ।