
दीननाथ बराल
पोखरा ७, जेठ.
गण्डकी प्रदेशका लोकदोहोरी प्रतिभालाई एउटै मञ्चमा उतार्ने उद्देश्यसहित ‘दोस्रो गण्डकी लोकतारा–२०८३’ यही जेठ ९ गते ९शनिबार० पोखरामा फाइनल चरणको प्रतिष्प्रर्धा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने ग्राण्ड फिनालेको तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका ११ प्रतिस्पर्धी सहभागी हुनेछन्। आयोजकका अनुसार स्वर, ताल र लयको आधारमा निर्णायकले प्रतियोगीको मूल्याङ्कन गर्नेछन्। प्रतिष्ठानका अध्यक्ष माया गुरुङले कार्यक्रमको उद्देश्य लोकसंस्कृति, मौलिकता र लोकभाकाको संरक्षण गर्दै नयाँ प्रतिभा उत्पादन गर्नु रहेको बताउनु भयो । प्रतियोगितामा कास्कीका समिर पुन, पर्वतकी शोभा परियार, बागलुङकी ललिता घर्ती मगर, स्याङ्जाका शक्ति छिनाल, तनहुँकी मन्दिरा थापा मगर, गोरखाका निर्मल गुरुङ, लमजुङका योगेश परियार, स्याङ्जाकी बत्ती कुमारी थापा, नवलपुरका गणेश विक, मुस्ताङकी सविता छिनाल र मनाङकी ममता तामाङले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, विजेताले वरिष्ठ सर्जक रमेश बिजीको लय÷शब्दमा अडियो गीत निःशुल्क रेकर्ड गर्ने अवसर पाउनेछन्। दोस्रो हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ, तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछन्। सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रमबाट सङ्कलित बचत रकम चार लाख रुपैयाँ कलाकार कल्याणकारी कोषमा राखिने कार्यक्रम संयोजक रामजी पौडेलले बताउनु भयो । कार्यक्रममा सहभागी हुने दर्शकका लागि प्रवेश निःशुल्क रहेको कार्यवाहक सचिव टेक क्षत्रीले जनाउनु भयो । प्रतियोगिताको पहिलो संस्करणका विजेता प्रेम बहादुर विश्वकर्मा हाल गित तथा संगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने अध्यक्ष गुरुङले जनाउनु भयो ।




