मितेरी सहरको उपहार एम्बुलेन्स सेवा पोखरामा

-


     पोखरा क्लिक     
     जेठ ३ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ३ जेठ,

अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स सेवा पोखरामा भित्रिएको छ । मित्र राष्ट्र चिनको मितेरी सहर जिजाङ प्रान्तको लिञ्जीबाट उपहार स्वरूप उक्त एम्बुलेन्स सेवा पोखरा महानगरपालिकालाई प्राप्त भएको महानगरले जनाएको छ ।

अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्य सामग्री अन्ततः साढे तीन वर्षपछि पोखरा आइपुगेको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । मितेरी सहर लिञ्जीले नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि स्वागतस्वरूप अत्याधुनिक उपकरणसहितको एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेको थियो । सामग्री चीनबाट रसुवाको केरुङ नाका हुँदै नेपाल भित्रिए पनि लामो समय भन्सार प्रक्रियामा अड्किएको थियो । तत्कालीन कानुनी व्यवस्थाअनुसार १६ लाख रुपैयाँभन्दा बढी मूल्यका सामग्रीमा भन्सार छुट नपाउने व्यवस्था रहेका कारण करोडौँ मूल्यको एम्बुलेन्स रोकिएको महानगरले जनाएको छ । त्यसपछि महानगरले नेपाल सरकारका विभिन्न निकायसँग समन्वय गर्दै भन्सार छुटका लागि निरन्तर पहल गरेको थियो ।

गत वर्षको बजेटमार्फत एम्बुलेन्स भन्सार छुटसम्बन्धी सीमा हटाइएपछि सामग्री ल्याउने बाटो खुलेको महानगर प्रमुख धनराज आचार्यले जनाउनु भयो । तर यसबीच महानगरपालिकाको कार्यालयमा भएको आगलागीमा सम्बन्धित कागजात नष्ट भएपछि प्रक्रिया पुनः सुरु गर्नुपरेको थियो । पुनः समन्वय र प्रक्रिया पूरा गरेर मूल्य उल्लेख नगरी सामग्री फेरि मगाइएपछि अन्ततः ती सामग्री पोखरामा भित्रिएका हुन् ।

महानगर प्रमुख आचार्यले मितेरी सहर लिञ्जीबाट प्राप्त सहयोग केवल स्वास्थ्य सामग्री मात्र नभई दुई सहरबीचको मित्रता, विश्वास र सहकार्यको प्रतीकका रुपमा रहेको बताउनु भयो । उनका अनुसार उक्त सामग्री पोखरावासीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रयोग गरिनेछ । पोखरा महानगरपालिकाले सामग्री भन्सार छुटाएर पोखरा ल्याउन सहयोग गर्ने नेपाल–चीन मैत्री संघका अध्यक्ष विश्वशंकर पालिखे, भन्सार कार्यालय तथा नेपाल सरकारका विभिन्न निकायप्रति आभार व्यक्त गर्नुभयो ।