
दीननाथ बराल,
पोखरा, २९ वैशाख,
पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ मा उल्लेखनीय सफलता हासिल गरेको छ । विद्यालयका १२ जना विद्यार्थीले उच्चतम ४.० जिपिए ल्याउन सफल हुनु् भएको हो ।
यस वर्षको नतिजासँगै मदरल्याण्डले लगातार उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिएको बिद्यालयको दाबी छ । विद्यालयबाट २०८० सालमा १० जना र २०८१ सालमा ११ जनाले ४.० जिपिए ल्याएका थिए भने यसपटक उक्त संख्या बढेर १२ पुगेको हो । राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित नतिजाअनुसार विद्यालयबाट एसइईमा सहभागी १ सय ६३ जना विद्यार्थीमध्ये १ सय २४ जनाले ३.६ देखि ४.० जिपिए प्राप्त गर्नु भएको छ। त्यसैगरी ३० जनाले ३.२० देखि ३।६० जिपिए ल्याएका छन् भने बाँकी ९ जनाले ३.०३ देखि ३.२० जिपिए हासिल गरेका बिद्यालयका प्राचार्य डा. नारायण बरालले बताउनु भयो ।
४.० जिपिए ल्याउने विद्यार्थीहरूमा आयुषा अधिकारी, आयुषा पोखरेल, आयुष्मा थापा, अंकिता तिमिल्सिना, अनुष्ठान रेग्मी, दिप्सन कँडेल, दीक्षा सुवेदी, नम्रता ढकाल, साइमन अधिकारी, समीप सुवेदी, सार्थक अधिकारी र सूर्यांश केसी रहनु भएको छ । तीमध्ये ७ जना छात्रा र ५ जना छात्र रहनु भएको छ । पोखरा–७, मासबारस्थित मदरल्याण्ड मावि पछिल्ला वर्षहरूमा शैक्षिक उत्कृष्टताका कारण चर्चामा रहँदै आएको विद्यालय हो । विद्यालयले नेपाल सरकारका विभिन्न निकायबाट ‘बेस्ट स्कुल अवार्ड’ समेत प्राप्त गर्दै आएको छ ।
गत वर्ष कक्षा १२ को नतिजामा पनि विद्यालयका १२ जना विद्यार्थीले ३.९६ जिपिए ल्याउँदै उत्कृष्ट नतिजा हासिल गर्नु भयो । त्यसअघि २०८० सालमा जीवन अधिकारी, कृतिका थापा र राजेश पौडेल तथा २०८१ सालमा सदीक्षा क्षत्रीले कक्षा १२ मा ‘नेपाल टप’ गर्न सफल हुनु भएको थियो । विद्यालयका प्राचार्य डा. बरालले उत्कृष्ट नतिजाप्रति खुसी व्यक्त गर्दै सम्पूर्ण विद्यार्थीलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना वयक्त गर्नु भएको छ । विद्यालयको सफलतामा योगदान पुर्याउने शिक्षक, शिक्षिका र अभिभावकप्रति आभारसमेत व्यक्त गर्नुभयो । गर्दै उहाँले हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको उल्लेख गर्नुभयो ।




