
पोखरा, २७ वैशाख,
पोखरा महानगरपालिका, आर्थिक विकास महाशाखा अन्तर्गत कृषि विकास शाखाको आयोजनामा तथा युिनडो जिम्याप नेपाल परियोजनाको सहकार्यमा सञ्चालन गरिएको मौरीपालन उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिम २०८३ साल वैशाख १३ गतेदेखि १७ गतेसम्म तथा वैशाख २५ र २६ गते गरी सात दिन सञ्चालन गरिएको थियो । पोखरा महानगरपालिकाका विभिन्न वडाबाट छनोट भएका २३ जना सहभागी तालिममा सहभागी भएका थिए । सहभागीहरू कम्तीमा १५ घारदेखि १५० घारसम्म मौरीपालन गर्दै आएका व्यवसायीक कृषक तथा उद्यमीहरू रहेको महानगरपालिकाले जनाएको छ ।
तालिममा मौरीपालनको आधुनिक प्रविधि, घार व्यवस्थापन, उद्यमशीलता विकास, व्यवसाय योजना, बजारीकरण तथा मूल्य शृङ्खला, प्रशिक्षण विधि, सञ्चार तथा प्रस्तुतीकरण सीपलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूलाई फरक–फरक विषयमा प्रस्तुतीकरण अभ्याससमेत गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट प्राप्त ज्ञान, सीप र प्रविधिको सही प्रयोग गरी उत्पादकत्व वृद्धि तथा आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । उहाँले उत्पादक किसानलाई महानगरपालिकाले विशेष प्राथमिकता दिँदै आएको उल्लेख गर्दै तालिमको प्रभावकारी सदुपयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा जिम्याप परियोजनाका बजार तथा मूल्य शृङ्खला विशेषज्ञ सुरेश बरालले व्यवसाय योजना, उद्यमशीलता विकास, गुणस्तर सुधार तथा प्रशिक्षण विधिसम्बन्धी प्राविधिक सहजीकरण गर्नुभएको थियो ।
आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पछिल्लो समयमा पोखरामा मौरीपालनतर्फ आकर्षण र महको माग दुवै बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार महानगरपालिकाले मौरी तथा मह मेला आयोजना, “एक वडा एक पकेट” कार्यक्रम सञ्चालन तथा वडा कृषि सञ्जालमार्फत मौरीपालन प्रवद्र्धन गर्दै आएको छ । मौरीपालनले विषादी न्यूनीकरण अभियानमा सहयोग पु¥याउने, जैविक विविधता संरक्षण गर्ने, आर्थिक उपार्जन तथा रोजगारी सिर्जना गर्ने भएकाले उद्यमी कृषकको क्षमता अभिवृद्धि र स्रोत व्यक्तिका रूपमा विकास गर्न तालिम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । तालिमका सहभागी जीवनाथ लामिछानेले तालिम व्यवसायीक कृषकका लागि अत्यन्त आवश्यक र उपयोगी रहेको बताउनुभयो । उहाँले व्यवसाय योजना निर्माण, प्रशिक्षणको तयारी तथा प्रभावकारी प्रस्तुतीकरण सम्बन्धी महत्वपूर्ण ज्ञान हासिल भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान तथा सीप आफूमा मात्र सीमित नराखी अन्य कृषक तथा समुदायमा समेत प्रवाह, प्रसार र अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।




