
दीननाथ बराल,
पोखरा, २१ वैशाख,
पोखराको बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाले सोमबार सडक आन्दोलनमा उत्र्रिएका छन् । उनीहरूले वैकल्पिक व्यवस्था सुनिश्चित नगरी आफुहरुलाई हटाउने प्रयास गरे त्यसको प्रतिरोध गर्ने धम्की दिएका हुन् ।
भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीको नेतृत्वमा भएको प्रदर्शनका क्रममा सहभागीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मालाई हस्तान्तरण गर्नु भएको छ । ज्ञापन पत्र बुझ्दै उहाँले सम्बन्धित निकायमा उक्त माग पत्र पेश गर्ने जनाउनु भयो । त्यसपछि प्रदर्शनकारीहरूले र्याली निकाल्दै पोखरा महानगरपालिका पुगेका थिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालसमक्ष आफ्ना माग प्रस्तुत गर्दै संघर्ष समितिले एक साताभित्र महानगरको ३५ दिने सूचना खारेज गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न आग्रह गरेको छ ।
समितिका अध्यक्ष प्रेमबहादुर गुरुङले विकल्पविना हटाउन खोजिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । “हामीलाई उचित विकल्प नदिई जबर्जस्ती हटाउने प्रयास भए त्यसविरुद्ध हामी सशक्त प्रतिकार गर्छौं,” उहाँले भन्नुभयो । प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा प्लेकार्डसहित सहभागीहरूले महानगर कार्यालय घेराउ गरेका थिए । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको बाक्लो उपस्थिति महानगर परिसरमा खटाइएको थियो ।
यता महानगरपालिकाले भने सुकुम्बासी समस्या समाधानका लागि आफूहरू सकारात्मक रहेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले कानुनसम्मत रूपमा बस्ती व्यवस्थापन गरिने आश्वासन दिनुभयो । यसअघि धनराज आचार्य ले पनि सुकुम्बासी समस्यालाई जिम्मेवार ढंगले समाधान गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलनका कार्यक्रम त्यागेर सहकार्य गर्न आग्रह गर्नु भएको छ । महानगरले सार्वजनिक जग्गा अतिक्रमण हटाउने नीति अनुरूप ३५ दिनभित्र संरचना हटाउन सूचना जारी गरेपछि विवाद चुलिएको हो ।
प्रदर्शनकारीहरूले आफ्ना माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले आन्दोलन पछि उत्पन्न परिणामको जिम्मेवारी महानगरपालिकाले नै लिनुपर्ने समेत बताउनु भएको छ । पोखरामा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बासि करिब १९ हजार १ सय ७६ जना रहेको समितिले जनाएको छ । पोखरा उपत्यका नगर विकास समितिले २०३२ सालमा पोखरा बस पार्क बनाउने उद्धेश्यका साथ २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । बस पार्कमा हाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बासिको सङख्या मात्र ४ सय ७५ घर परिवार रहेको समितिले जनाएको छ । बसपार्क बनाउने हाल खाली जग्गा करिब १९ रोपनी मात्र खाली रहेको बताइन्छ ।




