
पोखरा, १५ वैशाख,
ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन माग गरेको छ । टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य नेतृत्वको टोलीले गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै अन्नपूर्ण क्षेत्रसहितका प्रमुख पदमार्गहरूमा देखिएका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै पदयात्रा पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन माग गर्नु भएको हो ।
तत्काल सबै टिम्स चेकपोष्टहरू सञ्चालनमा ल्याई अनिवार्य गर्न गण्डकी प्रदेश सरकारसँग टान गण्डकीले जोडदार माग गरेको छ । ज्ञापनपत्रमा पदयात्रा पर्यटन क्षेत्रमा पछिल्लो समय विभिन्न चुनौतीहरू थपिँदै गएको उल्लेख गरिएको छ । विशेष गरी पदमार्गहरू मोटर बाटोले विस्थापित हुँदै जानु, बिना अनुमति पदयात्रा सञ्चालन हुनु तथा विदेशी गाइडहरूको अनियमित गतिविधिका कारण समग्र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको अध्यक्ष आचार्यले जनाउनु भयो ।
टानले पदयात्री सूचना व्यवस्थापन प्रणाली पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको उल्लेख गर्दै सबै चेकपोष्टहरू तत्काल सञ्चालनमा ल्याई अनिवार्य गर्नुपर्ने माग राखेको हो । यसले पदयात्रालाई सुरक्षित, व्यवस्थित र अभिलेखीकरणयुक्त बनाउने विश्वास पनि व्यक्त गरिएको छ । त्यस्तै, पदमार्गमा आधारभूत सुविधा, सुरक्षा व्यवस्था तथा सूचना केन्द्रहरूको अभाव रहेको भन्दै पूर्वाधार विकासमा सरकारी लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी प्रचार–प्रसार अभावका कारण नेपालको पदयात्रा पर्यटन अपेक्षित रूपमा प्रवद्र्धन हुन नसकेको भन्दै डिजिटल माध्यममार्फत प्रचारलाई तीव्र बनाउन पनि टान गण्डकीले सुझाव दिएको छ ।
अध्यक्ष आचार्यले पदयात्रा पर्यटन नेपालको प्रमुख आयस्रोत भएको पोखरा क्लिक समक्ष उल्लेख गर्दै यसको दिगो विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको बताउनु भयो । मन्त्री रिमालले पर्यटन क्षेत्रको विकासका लागि सम्बन्धित संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघीय संरचनाअनुसार प्रदेश सरकारले अझै आवश्यक अधिकार पूर्ण रूपमा नपाउँदा काम गर्न केही कठिनाइ भएको उहाँले जनाउनु भयो ।



