पोखरामा घर तथा भवनका नक्सा पास नभएकाहरुको लागि अब ढिलाइ गर्ने ठाउँ छैन !

-


     पोखरा क्लिक     
     वैशाख १४ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिकाले लामो समयदेखि नक्सा पास नगरी वा आंशिक रूपमा मात्र स्वीकृति लिएर बनाइएका घर तथा संरचनाहरूका लागि अन्तिम अवसरको घोषणा गरेको छ। यदि घर धनीले हालसम्म “नक्सा सम्पन्न प्रमाणपत्र” लिएको छैन भने, अब २०८३ साल असार मसान्तभित्र अनिवार्य रूपमा अभिलेखीकरण गर्नैपर्छ।

पोखराका मेयर धनराज आचार्यका अनुसार, यो प्रक्रिया स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर्गत तयार गरिएको “भवन नियमित तथा अभिलेखीकरण कार्यविधि २०८० ९दोस्रो संशोधन २०८२०” अनुसार लागू गरिएको हो। यसको मुख्य उद्देश्य अवैधानिक रूपमा बनेका संरचनालाई कानुनी दायरामा ल्याउनु हो। समयमै आफ्ना घर तथा भवनहरु अध्यावधिक नभएको खण्डमा सम्पत्ति कर, मालपोत वा भूमिकर तिर्न समस्या आउन सक्छ । घरजग्गा नामसारी गर्न सिफारिस पाइँदैन, विद्युत् र खानेपानी जस्ता आधारभूत सेवा लिन अवरोध हुन सक्छ । यसलाई सहज बनाउन वैशाख १२ देखि २१ गतेसम्म सबै वडा कार्यालयमा विशेष अभियान पनि सञ्चालन गरिएको छ।

२ हजार वर्गफिटसम्मको छ र ३ तलाभन्दा कम छ भने सीधै आफ्नो वडा कार्यालयमै गएर प्रक्रिया सुरु गर्न सक्छौ। तर, यदि संरचना ठूलो छ भने, पोखरा महानगरपालिकाको घर नक्सा तथा अभिलेखीकरण शाखामा पुग्नुपर्ने हुन्छ। यो अवसर “अन्तिम” भनिएको छ—अर्थात्, अबपछि छुट वा थप समयको सम्भावना अत्यन्त कम छ। त्यसैले, अहिले नै आफ्नो घरको कानुनी स्थिति सुनिश्चित गर्नु नै बुद्धिमानी हुन्छ।