
दीननाथ बराल,
पोखरा ७, वैशाख,
कास्की जिल्लाका प्रशासनिक कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरूसँग आज (सोमबार) पोखरामा भएको बैठकमा प्रतिनिधि सभा सदस्य उत्तम पौडेल ले कार्यशैलीमा आमूल परिवर्तन गर्न कडा निर्देशन दिएका छन्। उनले विगतमा नेताको पहुँच, भनसुन र चिटका आधारमा हुने कामको संस्कृतिलाई तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् ।
बैठकमा बोल्दै सांसद पौडेलले सुशासन नारामा मात्र सीमित नभई हरेक सरकारी कार्यालयको व्यवहार र सेवा प्रवाहमा देखिनुपर्नेमा जोड दिए। “जनताको गुनासो सुन्ने पहिलो जिम्मेवारी तपाईंहरूको हो, जनताले मसम्म आउनु पर्ने अवस्था आउनु हुँदैन,” उनले स्पष्ट पारे। उनले कार्यालयभित्र विचौलियाको चलखेल, दादागिरी र कोठा–कोठा धाउने प्रवृत्ति अब सह्य नहुने चेतावनी दिए। सेवा प्रवाहलाई पारदर्शी, सरल र जनमुखी बनाउन कर्मचारीहरूलाई निर्देशन दिँदै उनले विगतका गलत अभ्यासहरूलाई त्याग्न आग्रह गरे।
सांसद पौडेलले कर्मचारी र जनताबीचको दूरी घटाउनुपर्ने उल्लेख गर्दै बारम्बार गुनासो आउने अवस्थालाई गम्भीर रूपमा लिन आग्रह गरे। “अब कुनै पनि सेवा चिटका भरमा होइन, विधि र प्रक्रियाअनुसार हुनुपर्छ,” उनले भने। उनले थपे, “यदि कुनै पनि कार्यालयबाट सेवा दिन ढिलाइ वा झन्झट भयो भने सम्बन्धित निकायमा सिधै उजुरी गर्नुस्, म स्वयं पनि त्यसमा संलग्न हुनेछु।” २२ वर्षको पत्रकारिता अनुभवको आधारमा उनले गलत परम्परालाई पखाल्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।
बैठकमा सुरक्षा निकायलाई समेत विशेष निर्देशन दिँदै पोखरालाई शान्त, सुरक्षित र पर्यटकमैत्री बनाउन उनले जोड दिए । विगतमा भएका घटनाबाट पाठ सिक्दै यस्ता दुर्घटना हुन नदिन सबै सचेत रहन उनको आग्रह थियो । कार्यक्रम कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा सहभागी सबै निकायलाई जनतामुखी सेवा, सुशासन र विधिको शासन कार्यान्वयनमा प्रतिबद्ध रहन आग्रह गरिएको छ।



