
काठमाडौं,
लामो समयदेखि चोटका कारण मैदान बाहिर रहेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को अन्ततः घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै न्युजिल्यान्डको अकल्यान्डमा बुधबार बिहान डाक्टर साइमन र उनको टोलीबाट सफलतापूर्वक शल्यक्रिया गरिएको बताएकी हुन्।
खाडी क्षेत्रमा हालको असहज परिस्थितिका कारण कतारस्थित एस्पेटार पुग्न समस्या भएपछि त्यहीँको सल्लाहअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञमार्फत शल्यक्रिया गरिएको उनले उल्लेख गरेकी छन्। अब उनको पुनर्स्थापना (रिह्याब) प्रक्रिया डाक्टरकै निगरानीमा सुरु हुने जनाइएको छ। अवस्था सामान्य भएपछि पुनः एस्पेटारमै रिह्याबलाई निरन्तरता दिने योजना रहेको उनले पोखराक्लिकलाई बताइन्। शल्यक्रियापछि भावुक सन्देश जारी गर्दै साम्बाले कठिन समयमा साथ दिने वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदायप्रति विशेष आभार व्यक्त गरेकी छन्। साथै, आफ्नो क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टिमले शल्यक्रियाको व्यवस्थापनका लागि गरेको सहयोगप्रति पनि उनले धन्यवाद दिएकी छन्।
यसैबीच, उपचारका लागि गरिएको सहयोग अपिलमा अभूतपूर्व साथ प्राप्त भएको साम्बाले बताएकी छन्। सामाजिक सञ्जालमार्फत सहयोगको आह्वान गरेपछि २४ घण्टा नबित्दै करिब १ करोड ४५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको उनले जानकारी दिइन्। उनका अनुसार नेपाली बैंक खातामा मात्रै १ करोड रुपैयाँभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ संकलन भएको छ। हाल उनी अष्ट्रेलियास्थित क्लबसँग आबद्ध रहेकी छन्, जसले बीमा रकम उपलब्ध गराउनुका साथै उपचार प्रक्रियामा थप सहयोग गरिरहेको जनाइएको छ।
चोटले आफूलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि प्रभावित पारेको स्वीकार्दै साम्बाले समर्थकहरूको साथ र विश्वासले पुनः उठ्ने साहस दिएको बताएकी छन्। “खेलाडीका रूपमा मैले कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा वा उपाधि होइन, तपाईंहरूको माया, भरोसा र समर्थन हो,” उनले सन्देशमा उल्लेख गरेकी छन्। पुनः नेपालको जर्सी लगाएर देशका लागि खेल्ने प्रतिबद्धता दोहोर्याउँदै उनले आफ्नो वास्तविक धन्यवाद सफल पुनरागमनमार्फत व्यक्त गर्ने बताएकी छन्। सामाजिक सञ्जालमा उनका लागि शुभकामना र समर्थनका सन्देशहरू निरन्तर आइरहेका छन्।



