उजुरी नै नपरे पछि पोखरामा सांसद महाविर पुनलाई दुव्र्यवहार गर्ने विकास गुरुङ हिरासतमुक्त

-


     पोखरा क्लिक     
     फागुन २९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २९ फागुन,

पोखराको पृथ्वीचोकमा किताब बिक्री गरिरहनु भएको प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाविर पुनसँग भनाभन गर्दै अभद्र व्यवहार गरेको आरोपमा पक्राउ पर्नु भएको पोखराका विकास गुरुङ हिरासतमुक्त हुनु भएको छ । सांसद पुनबाट औपचारिक उजुरी नआएको तथा मुद्दा अघि बढाउने इच्छा नदेखिएपछि सोधपुछपछि गुरुङलाई हिरासतमुक्त गरिएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।

पृथ्वीचोकमा सार्वजनिक रूपमा सांसदसँग अभद्र व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे अनुसन्धानका लागि गुरुङलाई बुधबार पक्राउ गरिएको थियो । पुनका तर्फबाट कुनै जाहेरी नपरेको र आफन्तले पनि कारबाहीको माग नगरेपछि सोधपुछ गरी विकासलाई हिरासतमुक्त गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले बताउनु भयो । “ठाडो निवेदनका आधारमा अनुसन्धानका लागि विकासलार्ई बोलाइएको थियो। फोन सम्पर्क गर्दा उपस्थित नभएपछि नियन्त्रणमा लिइएको हो,” बस्नेतले भन्नुभयो “आज सोधपुछ तथा घटनाबारे अनुसन्धानपछि उहाँलाई छाडिएको छ ।” गुरुङले पनि आफ्नो गल्ती महसुस गरेको बताएपछि उहाँलाई छाडिएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–१३ बाँझापाटनका ४३ वर्षीय विकास गुरुङले पृथ्वीचोकमा पुस्तक बिक्री गरिरहेका पुनसँग “सांसदको काम किताब बेच्ने हो , तपाईलाई हामीले प्रश्न गर्न नपाइने” भन्ने प्रश्न गरेको र त्यसक्रममा आफूलाई रिस उठेर बोल्दा विवाद बढेको बताउनु भएको छ । फागुन २५ गते पृथ्वीचोकमा पुनले आफ्नो आत्मकथामा आधारित “महाविर पुनः सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेका बेला गुरुङसँग भनाभन भएको थियो। यसअघि अनुसन्धानका क्रममा गुरुङ तीन पटक लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परिसकेको प्रहरी अभिलेखमा उल्लेख छ ।

डा. पुनले राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन तथा वीरगञ्ज कृषि औजार कारखाना सुधारका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले देशका विभिन्न शहरमा पुगेर आफ्नो जीवनकथामा आधारित पुस्तक बिक्री अभियान सञ्चालन गर्दै आउनु भएको छ । पोखरामा मात्रै तीन दिनमा करिब २२ लाख रुपैयाँ बराबरको पुस्तक बिक्री भएको उहाँले जनाउनु भयो । केही दिन पछि पोखरामा पुनः किताव बिक्रि गर्ने उहाँले जनाउनु भएको छ । पोखरामा आएको किताव विहिबार बिक्रि भई सकेको र अब केही दिन पछि पोखरामा किताव आएसंगै बिक्रि गर्ने उहाँले सामाजिक संजाल मार्फत जनाउनु भएको छ ।



This will close in 20 seconds