एमालेका नेता थापाद्धारा विगतका निर्वाचन भन्दा बढी अन्तरले एमालेको जित सुनिश्चित भएको दावी

-


     पोखरा क्लिक     
     फागुन १७ गते २०८२ मा प्रकाशित


पोखरा, १७ फागुन,

नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्ण थापाले कास्कीका तिनवटै क्षेत्रमा नै विगतका निर्वाचन भन्दा बढी अन्तरले एमालेको जित सुनिश्चित भएको दावी गरेका छन् । एमाले कास्कीका इन्चार्ज समेत रहेका थापाले यो चुनाव नालापानीको लडाई भएको बताउँदै देशभक्त शक्ति कमजोर हुन नहुने बताए ।

उनले आफ्नो पार्टीले सशक्त जुझारु उर्जावान उम्मेदवार रश्मि आचार्यलाई निर्वाचनमा खडा गरेको हुँदा विगतका निर्वाचन भन्दा बढि अन्तरले जित्ने विश्वास व्यक्त गरे । नेकपा एमाले क्षेत्र नं। २ कमिटीको आयोजनामा आज सम्पन्न निर्वाचन क्षेत्रीय कोणसभालाई सम्वोधनमा थापाले सो कुरा बताएका हुन् । एमालेलाई कमजोर हाक्ने प्रयास भैरहेको भन्दै थापाले सबै दृष्टिकोणबाट उत्कृष्ट उम्मेदवार रश्मि अब जनताको मनबाट अबको सांसद भैसकेको उल्लेख गरे । कास्की २ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले रोजगारी खोज्ने होइन रोजगारी दिने उद्धमी युवा बनाउने गरेर आफ्नो ध्यान केन्द्रीत हुने बताए । आज वातावरण र प्रभावकारी नीतिको अभावमा रोजगारी खोज्दै लाखौं युवा बेरोजगार रहेको र विदेशिनु परेको तथ्य आफुहरूसँग रहेको भन्दै सिप, इलम र दक्षता सहितको युवा निर्माणका लागि आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन् । युवा स्वरोजगार बनाउन केन्द्रीय नीति र कार्यक्रम प्रभावकारी हुन नसकेको स्थानियको गुनासो सुन्दै आचार्यले लगानीका विशेष सहुलियतका प्याकेज बनाउनुपर्नेमा जोड दिए ।

नेकपा एमाले पोखरा १७ वडा कमिटीको व्यवस्थापनमा आयोजित कार्यक्रममा उम्मेदवार आचार्यले युवालाई देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न वर्तमान शिक्षा संरचनामा परिवर्तन आवश्यक रहेको बताए । हाल सैद्धान्तिक शिक्षा बढी र प्राविधिक शिक्षा कम रहेको अवस्थालाई सुधार गर्दै प्राविधिक धारको शिक्षालाई विस्तार गर्नुपर्नेमा उनको जोड छ ।
प्राविधिक शिक्षा हासिल गरेपछि युवा स्वतः व्यवसाय गर्न सक्षम हुने, उद्यमशीलतामा जोडिन सक्ने र आत्मनिर्भर बन्न सक्ने वातावरण तयार हुने आचार्यको तर्क छ । त्यसका लागि ‘स्टार्टअप विजनेस’ र वाणिज्य क्षेत्रलाई एकीकृत गर्दै सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने उनले बताए ।

युवा तथा बौद्विक नेता उनले रोजगार प्रवद्र्धनका लागि स्पष्ट नीति निर्माण, साना तथा मझौला उद्यमलाई प्रोत्साहन र नयाँ व्यवसाय सुरु गर्न सहज वातावरण बनाइने प्रतिवद्धता व्यक्त गरे । आचार्यले रबिन्द्र अधिकारी र विद्या भट्टराईको नेतृत्वमा शुरु भएका अधुरा काम पूरा गर्ने र नयाँ युगको माग अनुसार प्रत्येक परिवार, हरेक समुदाय र संघ–संस्थाले देशको समृद्धिमा योगदान गर्नुपर्ने जोड दिदै सन्तुलित र सर्वाङ्गीण विकासमार्फत समृद्ध समाज निर्माण गर्न सकिने काम गर्ने उल्लेख्य गरे ।
कोण सभामा एमाले केन्द्रीय सदस्य प्रभा कोइराला, पूर्व केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भिम कार्की, पूर्व केन्द्रीय सदस्य एवं पूर्व शिक्षामन्त्री विद्या भट्टराई सहितको उपस्थिति रहेको थियो । एमाले कास्कीका कार्यबाहक अध्यक्ष भेषराज बरालको अध्यक्षता सम्पन्न कार्यक्रममा क्षेत्र नं। २ का सचिव झपट रानाभाटले कार्यक्रम सञ्चालन स्वागत एमाले पोखरा १७ का अध्यक्ष विक्रम गुरुङले गरेका थिए ।