मलाई उत्तम पौडेल चाहिएको छ ःरवि लामिछाने

-


     पोखरा क्लिक     
     माघ २८ गते २०८२ मा प्रकाशित


पोखरा,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विगत ३४ वर्षदेखि देशको ढुकुटी सक्नेहरूलाई जनताले नबिर्सने बताउनुभएको छ । बुधबार पोखरामा आयोजित कार्यक्रममा उहाँले सुशासन लागू गरी कुसासनविरुद्ध संघर्ष गर्ने अभियानमा साथ दिन पोखरेलीसँग अपिल गर्नुभयो।

“यहाँ सयौंलाई अन्यायमा पारिएको छ, ३४ वर्षसम्म देशको ढुकुटी सक्नेलाई हामी बिर्सँदैनौं,” उहाँले भन्नुभयो, “हामी सुशासनका लागि सहयात्रा गर्न चाहन्छौं, कुसासनविरुद्ध हाम्रो यात्रा जारी छ।” कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेललाई संसद्‌मा पठाउन आग्रह गर्दै लामिछानेले “मलाई उत्तम पौडेल चाहिएको छ” भन्नुभयो। उहाँले उत्तम पौडेलको हात समाउँदै जिताउन आग्रह गर्दै पोखरावासीको उत्साहले अग्रिम समर्थन देखिएको दाबी गर्नुभयो। “उत्तमका लागि अग्रिम बुकिङ गर्न तपाईँहरू आउनुभएको छ भन्ने कुरा तपाईँहरूको आँखाले बताइरहेको छ,” उहाँले भन्नुभयो।

फागुन २१ गतेलाई इतिहास लेख्ने दिनका रूपमा चित्रण गर्दै उहाँले सबै मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। साथै कास्की–१ का उम्मेदवार गणेश पौडेल र कास्की–३ की उम्मेदवार विना गुरुङलाई समेत विजयी गराउन अपिल गर्नुभयो। पोखराको मानवअधिकार चोकमा गर्ने तयारी गरिएको कार्यक्रम स्थान परिवर्तन गरी पृथ्वीचोक क्षेत्रमा आयोजना गरिएको थियो। सानो स्थानमा ठूलो संख्यामा समर्थक उपस्थित हुँदा केही समय सडक अवरुद्धसमेत भएको थियो। रास्वपाले कास्कीका तीनवटै क्षेत्रमा जित हासिल गर्ने दाबी गर्दै चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ।