
पोखरा,
आहा रारा पोखरा गोल्कडपको रजत संस्करण यही सातादेखि सुरु हुँदैछ । २७ माघदेखि ९ फागुनसम्म पोखरा रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी तीव्र भइरहँदा आयोजक सहारा क्लब पोखरालाई सहयोग गर्नेहरु पनि बढेका छन् ।
यसैक्रममा चरक मेमोरियल हस्पिटल प्रालिले प्रतियोगितामा सह–उपप्रायोजकरुपमा सघाउने भएको छन् ।
सो सम्बन्धमा प्रतियोगिता संयोजक क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र अस्पतालका तर्फबाट डाइरेक्टर कपिल पोखरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पोखरा–८, नागढुंगास्थित चरक मेमोरियलले विगतमा पनि प्रतियोगिता सफल पार्न सघाउँदै आएको थियो । १२ टिमले भाग लिने सो प्रतियोगितामा आयोजकले २५ औं संस्करणलाई नयाँ दिन फ्लड लाइट जडान गरेर रातिमा समेत खेल खेलाउँदैछ । त्यसका लागि मात्रै करिब २० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
आयोजकले यसपालि पुरस्कार राशिसमेत बढाएको छ । प्रथम र दोस्रो पुरस्कारको धनराशि वृद्धि गरी क्रमशः १४ लाख र ७ लाख रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिता सधैं झैं हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजक रहेको सहारा क्लब पोखरा अध्यक्ष केशवबहादुर थापाले बताए । सहारा क्लब पोखराले आयोजना गर्ने यो प्रतियोगिता नेपालको फुटबल इतिहासमा निरन्तर भएको एकमात्र प्रतियोगिता हो । सहाराले कठिन परिस्थिति तथा विपन्न वर्गका बालकलाई आवासीय सुविधासहित फुटबल सिकाउँदै आएको छ । हाल चौंथो ब्याचमा १६ जिल्लाका ३० जना बालक सूर्यबहादुर केसी सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित छन् । फुटबल प्रतियोगिताको आम्दानी एकेडेमीका लगानी हुँदै आएको छ ।




