
दीननाथ बराल,
पोखरा, १५ मंसिर,
पछिल्लो चार महिनामा गण्डकी प्रदेशमा ५३ जना नयाँ एचआईभी संक्रमित थपिएका छन भने चालु आर्थिक बर्षको पहिलो चौमासिकमा १० जनाको मृत्यु भएको छ । ३८औँ विश्व एड्स दिवस–२०२५ को अवसरमा नेपाल पत्रकार महासंघ कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र गण्डकी प्रादेशिक जनस्वास्थ्य केन्द्रको संयोजनमा पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
त्यसै गरी गण्डकी प्रदेशका ११ जिल्ला मध्य कास्कीमा सबै भन्दा बढी एचआईभि शंक्रमण दर बढ्दो रुपमा रहेको प्रादेशिक जनस्वास्थ्य केन्द्र एचआईभी फोकल पर्सन लक्ष्मण बसौलाले बताए । गण्डकी प्रदेशमा हाल ३ हजार ६६ जना एचआईभी–एड्सका बिरामीले एआरटी सेवा मार्फत उपचार गराइ रहेको उनले जनाए । उनका अनुसार उपचार लिइरहेका मध्ये ६४ जना बच्चा छन्। चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो चौमासिकमा ५३ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै, कार्तिक मसान्तसम्म कुल नयाँ रिपोर्ट भएका संक्रमित १५६ जना पुगेको छ ।
बसौलाका अनुसार गण्डकी प्रदेशमा १२ वटा एचआईभी परीक्षण तथा परामर्श केन्द्र, १ वटा भाइरल लोड तथा एचआईभी परीक्षण केन्द्र र १२ वटा पीडित सहयोग केन्द्र सञ्चालनमा छन्। प्रदेशका ११ जिल्लामध्ये कास्की सबैभन्दा बढी प्रभावित छ । कास्कीमा मात्रै १ हजार ५ सय ४९ जना एआरटी सेवा लिइरहेका छन् भने कार्तिक मसान्तसम्म ४४ जना नयाँ संक्रमित देखिएका छन्। रिपोटिङ भएका मध्य चालु बर्षको ४ महिनाको अवधिमा कास्कीमा मात्र ६ जनाको मृत्यु भएको बसौलाले जनाए । ३० जना बच्चाले कास्कीमा एआरटि उपचार लिदै आएका छन् ।
कार्यक्रममा प्रस्तुत गरिएका राष्ट्रिय तथ्याङ्कअनुसार नेपालभर ३४ हजार ३३७ जना एचआईभी संक्रमित अनुमान गरिन्छ, जसमा १९ हजार २७९ पुरुष, १४ हजार महिला र १ हजार ५८ बच्चा छन्। यस वर्षको विश्व एड्स दिवसको नाराः “अवरोधहरू पार गरौं, एड्स प्रतिकार्य रूपान्तरण गरौं” रहेको छ। नेपालमा दैनिक एचआईभि शंक्रमणबाट १.७ प्रतिशत मृत्यु दर रहेको बताइन्छ ।
कार्यक्रममा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. प्रेमराज पंगेनीले सञ्चारकर्मीमार्फत समुदायमा छिटो र यथार्थ सूचना प्रवाह हुने भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
त्यस्तै, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका फिजिसियन डा. सरदचन्द्र बरालले एचआईभी उपचार अन्य रोगको तुलनामा सहज भए पनि समाजमा रहेको लाञ्छना र भेदभावका कारण धेरै संक्रमितले आफू नजिकको केन्द्र छोडेर टाढा गएर उपचार लिन बाध्य हुने बताएका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, एड्स रोग सङ्घका केन्द्रीय सचिव मनोज गुरुङ, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल गण्डकीकी प्रमुख विद्या कोइराला, महासंघ कास्कीका सचिव भुपाल गुरुङ लगायत वक्ताहरूले संक्रमितहरूको उचित रेखदेख, रोजगारी तथा सीपमूलक तालिममा सरकार र सम्बन्धित निकायले अझ ध्यान दिनुपर्नेमा जोड दिए ।




