
दीननाथ बराल
पोखरा, १२ मंसिर
यातायात व्यवसायीहरुले आगामी निर्वाचनमा सबै दललाई स्पष्ट एजेन्डा सहित पार्टीको घोषणा पत्र समावेस गराउन माग गर्नु हुने भएको छ । स्थानिय यातायात प्रालिको शु्क्रबार पोखरामा सम्पन्न छैटौं साधारण सभा उद्घाटन सत्रमा वोल्ने व्यवसायीहरुले आउँदो निर्वाचनमा उदाउदै गरेका नयाँ पार्टी सहित पुराना पार्टीहरुलाई सार्वजनिक यातायातका बिषयमा पार्टीको घोषणा पत्रमा समावेश गर्न आग्रह गर्ने भएको हो ।
सार्वजनिक यातायात क्षेत्रलाई राजनीतिक दलहरूले निरन्तर बेवास्ता गर्दै आएको गुनासो गर्दै व्यवसायीहरु अब आफुहरु यातायात क्षेत्रलाई व्यबस्थित पार्न अहोरात्र खटिदा पनि सरकारले यसको बिषयमा कुनै सम्बोधन नगरेको व्यवसायीहरुको गुनासो छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजयबहादुर स्वाँरले सार्वजनिक यातायातका दीर्घकालीन समस्या समाधान गर्न राजनीतिक इच्छाशक्ति आवश्यक भएको बताउदै वर्षौंदेखि दलहरूले यातायात व्यवसायीलाई प्रयोग मात्र गरेको तर समस्याको विषयमा भने गम्भीर नभएको गुनासो गर्नुभयो । “अब हरेक दलको घोषणापत्रमा यातायात क्षेत्रका मुद्दा समावेश गराउन हामी दवाब दिन्छौँ,” स्वाँरले भन्नुभयो, “हामी सबै पार्टीलाई यो क्षेत्रबारे स्पष्ट जानकारी गराएर मात्रै होइन, आउने सरकारलाई पनि यो मुद्दा प्राथमिकतामा राख्न बाध्य बनाउँछौँ।”
सार्वजनिक यातायातलाई व्यवस्थापनको सीमित दायरामा मात्र हेर्न छोडेर नागरिकमैत्री, मर्यादित र आधुनिक प्रणाली बनाउने अब सुनौलो अवसर आएको उहाँको भनाई थियो । अध्यक्ष स्वाँरले जेनजी आन्दोलन केवल दल वा सरकारविरुद्ध मात्र नभई सार्वजनिक यातायात क्षेत्रमा बढ्दै गएका विकृति, विसंगति र अव्यवस्थाविरुद्ध पनि भएको उल्लेख गर्दै व्यवसायी स्वयं पनि सुधारतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो । “जेनजी आन्दोलन हामीविरुद्ध पनि थियो—हामी सुध्रनुपर्ने सन्देशको रूपमा लिनुपर्छ,” उहाँले भन्नुयो ।
यसैबीच महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले आगामी चुनावमा यातायात क्षेत्र बेवास्ता गरे दलहरूले राजनीतिक मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो । “यातायात क्षेत्रबाट पनि सक्षम व्यक्तिलाई पार्टीहरूले उम्मेदवार बनाउनै पर्छ, नत्र हामी देखाउँछौँ,” उहाँले भन्नुभयो सार्वजनिक यातायात ऐन ल्याउन सरकार बारम्बार पछि हटेको छ, जेनजी सरकारले प्रतिवद्धता जनाइसकेकाले हामी ९९ प्रतिशत ढुक्क छौं । ”
महासंघका वरिष्ठ उपाध्यक्ष तथा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष ऐनकुमार साईले महासंघकै आन्तरिक नेतृत्व कमजोर भएकै कारण समस्याहरू समाधान नभएको तर्क गर्नुभयो । पदका लागि मात्र चासो देखाइने तर काममा कमजोरी हुँदा व्यवसायी निरन्तर मारमा परेको उहाँले जनाउनु भयो । महासंघका सचिव भानुभक्त बरालले सार्वजनिक यातायात क्षेत्रलाई व्यबस्थित पार्न सके रातो प्लेटका सवारी साधन भन्दा बढी प्रभावकारी कालो प्लेटका सवारी साधनको हुने जनाउनु भयो ।
स्थानिय यातायात प्रालिका अध्यक्ष केदार पौडेलले सार्वजनिक यातायात ऐन नआएकै कारण व्यवसायीले थुप्रै प्रशासनिक र कानुनी झन्झट भोग्नु परेको गुनासो गर्नुभयो । कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका निवर्तमान अध्यक्ष योगेन्द्रबहादुर केसी, मजदुर नेता तीलक विश्वकर्मा लगायतले सार्वजनिक यातायात सेवालाई समय सापेक्ष गुणस्तरिय बनाउनु पर्नेमा जोड दिनुभयो ।
चसभाले शेयर बिक्रीदेखि दुर्घटना उपचार, बीमा, संरचनागत सुधार र यातायात व्यवस्थापन जस्ता महत्वपूर्ण विषयलाई आगामी एजेन्डाको केन्द्रमा राखेर सबै दललाई जिम्मेवार बनाउने निष्कर्ष निकालेर रामचन्द्र शर्माले बताउनु भयो ।




