लामाचौरमा जेन–जी आन्दोलनमा क्षतिग्रस्त प्रहरी सीआरभी भवन पुनः सञ्चालन

-


     पोखरा क्लिक     
     भाद्र २९ गते २०८२ मा प्रकाशित


पोखरा,

जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको लामाचौरस्थित प्रहरी सीआरभी भवन पुनः सञ्चालनमा ल्याइएको छ । नव आदर्श सामुदायिक विकास समाजको पहलमा र स्थानीय समुदायको सक्रिय सहयोगमा उक्त भवनको सरसफाइ, मर्मत–संहार तथा रंगरोगन सम्पन्न गरी भवनलाई पुनः प्रयोगमा ल्याइएको हो ।

नव आदर्श सामुदायिक विकास समाजले लामाचौर, बाटुलेचौर, पोखरा–१६ र १९ क्षेत्रका स्थानीय संघसंस्था, एलसी ब्रदर्स क्लब, व्यापारी, आमा समूह, बैंक तथा सहकारी संस्था, विद्यालयहरू, स्थानीय बासिन्दा लगायत सबैको भौतिक, नैतिक, जिन्सी, जनश्रम र आर्थिक सहयोगप्रति आभार प्रकट गरेको छ ।

जेन–जी आन्दोलनमा सहिद भएका महान आत्माहरूको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको समाजका अध्यक्ष ई.दिनेश भण्डारीले पोखराक्लिकलाई बताउनुभयो । समाजले लामाचौर चोकमा दीप प्रज्वलन कार्यक्रम समेत आयोजना गरेको थियो । देशमा शान्ति, सुरक्षाको प्रत्याभूति र सामाजिक एकताको सन्देश प्रवाह गर्न यस कार्यले योगदान पुर्‍याउने अध्यक्ष भण्डारीले विश्वास व्यक्त गरे ।