ट्रक व्यवसायीले ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायमान गराएका छन् ः मन्त्री केसी

-


     पोखरा क्लिक     
     भाद्र १४ गते २०८२ मा प्रकाशित


पोखरा,

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले ट्रक व्यवसायीले मालसामान ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायामान गराएको बताएका छन् । शनिबार गण्डकी ट्रक यातायात व्यवसायी संघको ४८ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री केसीले निजी क्षेत्र देशको अर्थतन्त्रको खम्बाको रुपमा रहेको समेत उल्लेख गरे । उनले बीमा दावी प्रक्रिया कठिन हुनु, समयानुकूल नीति नहुनु, दक्ष चालकको कमी, सडकको खराब अवस्था, भारतीय ट्रकहरूसँग प्रतिस्पर्धा लगायतका व्यवसायीका समस्याका बारेमा आफू जानकार रहेको चर्चा गरे । उनले यी समस्या समाधानका लागि प्रदेश सरकार आफ्नो ठाउँबाट सक्दो लागिरहेको उल्लेख गरे ।

संघले पुराना गाडी विस्थापनमार्फत वातावरणीय प्रदूषण घटाउन गरेको पहल, दुर्घटना हुँदा क्षतिपूर्ति र सहयोग सुनिश्चित गर्ने काम र सामाजिक क्षेत्रमा गरेको कार्याको प्रशंसा मन्त्री केसीले प्रशंसा गरे । उनले बसपार्कको चर्चा हुने र समस्या साधानको लागि पहल भएपनि ट्रक पार्किङको समस्या ठूलो रहेको समेत उल्लेख गरेका छन् । मन्त्री केसीले प्रविधिको प्रयोग मार्फत व्यवसायमा सहजीकरणका लागि समेत व्यवसायीलाई आग्रह गरे् । ‘ट्रकहरुमा जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्नुहोला । यसले हाम्रा ट्रक कहाँ छन्, कहाँ पुगे भन्ने थाहा पाउन सजिलो हुन्छ । सुरक्षाको दृष्टिकोणले यो निकै महत्वपूर्ण छ । डिजिटल बिलिङजस्ता विषय पनि यहाँहरुको प्राथमिकतामा परोस् भन्ने मेरो सुझाव छ’ उनले भने ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले सरकारले यातायात व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्यानुपर्नेमा जोड दिए । आफूहरुलाई दोस्रो दर्जाको नागरिक जसरी व्यवहार गर्नेगरिएको भन्दै दुखेसो पोखेका उनले व्यवसायीमैत्री वातावरण बनाउन सरकारसंग आग्रह गरेका छन् । राज्यलाई नियमपूर्वक कर तिरेर र रोजगारी सृजना गरेर सहयोग गर्ने व्यवसायीको विरुद्ध सरकार गएर कसको पक्षमा काम गर्ने हो ? भन्दै उनले प्रश्न समेत गरे ।

संघका संस्थापक अध्यक्ष तेजनाराण तिवारीले सरकाले व्यवसायीलाई दुख दिने नियत राख्न नहुने धारणा राखे । अनेक झमेला दिएर प्रतिकुल अवस्थामा समेत व्यवसाय गरिरहेका व्यवसायीलाई पलायन गराउने तर्फ सरकार लागेको उनको भनाई थियो ।
ग्ण्डकी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीले ट्रक पार्किङको विषय अहिलेसम्म सरकारको नजरमा नपरेको बताए । नेपाली व्यवसायीले भारबहन लगायतका नियमको कडाईका साथ पालना गर्दा भारतीय व्यवसायीलाई सो नियम नै नलाग्ने अवस्था आउनु अनि नेपाली व्यवसायीलाई दुख दिनु कस्तो नियत हो ? भन्दै उनले प्रश्न गरे । गण्डकी ट्रक यातायात व्यवसायी संघका सदस्यहको मात्रै अरबौं लगानी रहेको भन्दै उनले यो लगानीको संरक्षण गर्नु सरकारको पनि दायित्व रहेको सम्झाए । कार्यक्रममा हेवी इकुप्मेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष बालकृष्ण कोइराला, पूर्व वरिष्ठ उपाध्यक्ष हेमराज सुवेदी, संघका वरिष्ठ उपाध्यक्ष कल्याण तिमिल्सिना र महासचिव सोभराज थापा लगायतले बोलेका थिए ।