पोखरामा सुरु भएको राष्ट्रिय घर निर्माण महोत्सव (फेस्ट) को पहिलो दिनमा १५ सय सहभागि

-


     पोखरा क्लिक     
     भाद्र १३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १३, भदौं,

पोखरामा आज (शुक्रबार) देखि सुरु भएको राष्ट्रिय घर निर्माण महोत्सव (फेस्ट) २०८२ को पहिलो दिनमा करिब एक हजार ५ सय जना सहभागि हुनु भएको छ । स्किल सेवा पोखराको आयोजनामा अमरसिंहचौरमा सुरु भएको उक्त महोत्सवको पहिलो दिनमा करिब पोखरा सहित अन्य क्षेत्रबाट १ हजार ५ सय जना सहभागि हुनु भएको आयोजकले पोखरा क्लिकलाई जनाएको छ ।

पहिलो पटक पोखरामा भएको उक्त महोत्सवको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्नु भयो । प्रतिकुल मौसमका कारण करिब दुई घण्टा ढिला गरी उद्घाटन भएको समारोहमा बोल्दै मेयर आचार्यले पोखरामा अधिकांश घरहरु मानव बस्तीका हिसावले र वातावरणीय दृष्टिले उपयुक्त नभएको बताउनु भयो । पोखराका करिब ८० प्रतिशत घरमा समस्या रहेको बताउदै उहाँले अब पोखरामा निर्माण हुने घर हावाको आवातजावात देखि वातावरणमैत्रि र सहुलियतमा बनाउने विधि र प्रविधि भित्रि सकेको जनाउनु भयो ।

महानगरले विल्डिङ कोर्ड जारी रहेकोले यसको फलो गर्न मेयर आचार्यले सुझाव दिनु भयो । जमिन बजेटको आधारमा घर बनाउन सकिने जनाउदै मेयर आचार्यले एक सय भन्दा बढी कन्सल्टेण्टहरु पोखरामा रहेको बताउनु भयो । पोखरामा अर्को बर्ष अझ व्यबस्थित ढंगले महोत्सव गर्न उहाँले सुझाव दिनुभयो । घर निर्माणसँग सम्बन्धित सबै सेवा र जानकारी एउटै छत मुनि उपलब्ध गराउने अवसरको रूपमा पोखरामा उक्त महोत्सव आयोजना गरिएको स्किल सेवा पोखराका समन कुवंरले बताउनु भयो । महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तु शास्त्री, नगरपालिकाका अधिकारी, विद्यार्थी र आम उपभोक्ताहरुको सहभागी रहेको उहाँले जनाउनु भयो ।

साथै विभिन्न निर्माण सामग्री आपूर्तिकर्ता कम्पनी र बैंकका स्टल पनि रहेकाछन् । कार्यक्रममा घर निर्माण गर्दा खर्च कम गर्ने उपाय, सिमेन्ट, इटा, डन्डी, ग्लास, टाइल्सको उपयुक्त प्रयोग, मजदुर व्यवस्थापन, डिजाइनदेखि अन्तिम चरणसम्मका प्रत्येक स्टेप–बाइ–स्टेप प्रक्रिया बारे जानकारी दिइने भएकोले घर बनाउन चाहनेहरुको लागि उक्त महोत्सव फलदायि हुने दाबी गरिएको छ । यस बाहेक प्रदर्शनीमा आधुनिक र परम्परागत डिजाइन, ऊर्जा बचत, खुला स्थानको सदुपयोग, हावापासको उचित व्यवस्थापन र गुणस्तरीय घर निर्माणका नवीनतम विचारहरू प्रस्तुत गरिएको छ । लगानी जुटाउने र साझेदारीका अवसरहरू समेत उजागर हुने भएकाले यस महोत्सवले समग्र आवास निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने संस्थाका संचालक सताक्क्षि मिश्राले जनाउनु भयो ।

कार्यक्रम संयोजक कुंवरले भन्नुभयोे, “हरेक व्यक्तिको लागि घर जीवनको सबै भन्दा मूल्यवान सम्पत्ति हो, त्यसैले यसलाई सुरक्षित, भरपर्दो र दिगो बनाउनु अत्यावश्यक छ ।” दुई दिन चल्ने फेष्टमा करिब पाँच हजार भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । फेष्टमा ३२ वटा स्टलहरु रहेका छन् । पोखरामा पहिलो पटक भएको उक्त कार्यक्रमबाट धेरै पोखरेलीहरु लाभान्वित हुने मार्केटिङ म्यानेजर सफल प्रधानले विश्वास व्यक्त गर्नुभयो । पहिलो दिनमा करिब १ हजार ५ सय जना सहभागि भएको आयोजले जनाएको छ ।