
पोखरा,
कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले नेपालमा आफ्नो विकास साझेदारीको तीन दशक पुरा गरेको छ। “सँगैका ३० वर्ष स् विश्वास र सहकार्यको यात्रा” भन्ने नारासहित पोखरामा आयोजित विशेष समारोहमा करिब २९ मिलियन अमेरिकी डलर बराबरका तीन परियोजनामा सम्झौता भएको छ। यस अन्तर्गत करिब ९ मिलियन अमेरिकी डलर लागतमा गण्डकी प्राविधिक संस्थान स्थापना परियोजना सन् २०३० सम्म सञ्चालन हुने भएको छ। सोही अवसरमा नेपालमा फलफूल तथा तरकारी परियोजनाको मूल्य शृङ्खला विकासका लागि १० मिलियन अमेरिकी डलर र सुदूरपश्चिम पोलिटेक्निक संस्थान स्थापना परियोजनाका लागि थप १० मिलियन अमेरिकी डलरको सम्झौता पनि गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विकास साझेदार मात्र नभई एक असल मित्रको रूपमा कोइकाले नेपालको समग्र विकास प्रक्रियामा पुर्याएको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण व्यवस्थापन, मानव संसाधन विकास र रोजगारी सृजनामा कोइकाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। पोखरामा समेत कोइकाको सहयोगमा ग्रिन भेन्चर जोनमार्फत हरित रोजगारी सृजनाको परियोजना सञ्चालन भइरहेको र नजिकैको भविष्यमा सुविधा सम्पन्न जलन अस्पताल निर्माणको प्रतिबद्धताप्रति आभार व्यक्त गर्नुभयो।
कोइकाले नेपालमा आफ्नो तीन दशक लामो विकास यात्राको समीक्षा गर्दै नेपाल सरकार र स्थानीय समुदायसँग सहकार्यमा समावेशी, दिगो र समृद्ध भविष्य निर्माणमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ। कोइका नेपालका देशीय निर्देशक मूहन कंगले दीर्घकालीन साझेदारी र दिगो विकासप्रति दृढ अडान व्यक्त गर्नुभयो।
परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले नेपाल–कोरिया मित्रता र सहकार्यलाई स्मरण गर्दै शिक्षा, स्वास्थ्य, कृषि र क्षमता अभिवृद्धिमा कोइकाले पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो। सो अवसरमा नेपालका लागि कोरियाली राजदूत पार्क ते–यङ्गले कोइकाको ३० वर्षे यात्रा नेपाल र कोरियाबीचको गहिरो मित्रता र आपसी विश्वासको प्रतिबिम्ब भएको बताउनुभयो।
सन् १९९१ देखि दक्षिण कोरियाली सरकारले कोइका मार्फत नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ। हालसम्म कोइकाले नेपालको विकासमा २०० मिलियन अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ।






